‘दिमाग खराब’लाई उच्च शो, के गर्ला १ करोडको ओपनिङ ?

निर्देशक निश्चल बस्नेतले सात बर्षपछि निर्देशन गरेको फिल्म ‘दिमाग खराब’ शुक्रबारदेखि हलमा लाग्दैछ । यो फिल्मको गीत, टिजर, ट्रेलरले दर्शकको राम्रै साथ पाएको छ । राजनीतिक पृष्ठभूमिमा आम मानिसको कथा भनिएको यो फिल्मले मल्टिप्लेक्समा उच्च शोज पाएको छ । 

विगत ३ सातादेखि हलमा दर्शकको चाप कम हुनु, शुक्रबार र शनिबार नयाँ फिल्म नहुनु आदि कारणले गर्दा पनि फिल्मलाई मल्टिप्लेक्सले उच्च शोज उपलब्ध गराएका हुन् । 

यो फिल्मलाई क्यूएफएक्सले देशभरका हलमा ५८ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज्ले कालिमाटी र नयाँ बाँनेश्वरमा ५–५ शोज, वीग मुभिजले ५ शोज, एफक्यूबले ६ शोज, इएनआई नयाँ बाँनेश्वर ५ शोज उपलब्ध गराएको छ । 

निश्चल बस्नेतको निर्देशनमा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले पहिलो दिनमा १ करोड माथिको ओपनिङ गर्ने प्रक्षेपण गर्न सकिन्छ । तर, फिल्मले पाएको शोमा दर्शकको उपस्थित बाक्लो हुनुपर्छ । 

तिहारको बिदाको फाइदा यो फिल्मले उठाएको खण्डमा यसले निर्माता रौनक विक्रम कँडेललाई राम्रै फाइदा दिनसक्छ ।