दीपेन्द्रको ‘मेयर’मा बागमती नगरपालिकाका मेयरको कथा


निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मेयर’ले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको कथा भन्ने छ । मेरो फिल्मसँग कुराकानीमा दीपेन्द्रले भने–‘हामीले सर्लाहीका मेयर भरतकुमार थापामाथि केन्द्रित रहेर फिल्म बनाउन लागेका हौं । तर, यो पुरै बायोपिक फिल्म भने होइन ।’

दीपेन्द्रका अनुसार, फिल्मको छायांकन माघ महिनाबाट सुरु हुनेछ । फिल्मका लागि अहिलेसम्म कोही पनि कलाकारको नाम अगाडि आएको छैन । सर्लाहीमा नै छायांकन हुने फिल्मलाई सागर मैनाली र अरविसा थापाले निर्माण गर्नेछन् । गत बर्षको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट थापा बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी, दोश्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । 

मेयर थापाले गरेको कामबाट प्रभावित भएर उनलाई नै केन्द्रमा राखेर फिल्म बनाउन लागेको दीपेन्द्रले जानकारी दिएका छन् । 

दीपेन्द्रले निर्देशन गरेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ कार्तिकको ४ गतेबाट हलमा चलिरहेको छ । उनले, फिल्म ‘आमा २’ निर्माणको तयारी समेत गरेका छन् । 

नेपाली फिल्म क्षेत्रमा निर्देशक खनाल फरक कथामा फिल्म भन्न रुचाउने निर्देशकको रुपमा चिनिन्छन् । उनी, फिल्ममा नयाँ नयाँ प्रयोग समेत गर्न रुचाउँछन् ।