‘संजिवनी’को छायांकन सुरु नहुँदा यता न उताको भइन् कुसुम

निर्देशक दिनेश श्रेष्ठले फिल्म ‘संजिवनी’ निर्माणको घोषणा केही महिना अगाडि गरे । फिल्मको पोष्टर समेत सार्वजनिक गरियो । पोष्टरमा नायक आर्यन सिग्देल र मोडल कुसुम शर्माको जोडीलाई प्रस्तुत गरिएको थियो । 

‘सकम्बरी’ बोलको गीत रिलिज भएपछि चर्चामा आएकी मोडल शर्माको डेब्यू फिल्मलाई लिएर उनका फ्यानहरु पनि उत्साहित थिए । तर, फिल्मको छायंकन अझै पनि सुरु हुन सकेको छैन । निर्देशक श्रेष्ठले भदौबाट नै फिल्मको छायांकन सुरु गर्ने बताएका थिए । 

श्रोतले  दिएको जानकारी अनुसार, यो फिल्मको छायांकन क्यानडामा गर्ने तयारीमा निर्माणपक्ष छ । तर, क्यानडाको भिसा आएको छैन । जसकाकारण, फिल्म निर्माण नै अन्यौलमा छ । 

निर्माणपक्षले डेब्यू कलाकार कुसुमलाई फिल्मको छायांकन नसकिएसम्म अरु फिल्ममा काम नगर्न भनेको छ । जसकाकारण, कुसुमले अफर आएका फिल्महरु पनि ‘संजिवनी’का कारण साइन गर्न सकेकी छैनन् । 

निर्माणपक्षले त म्युजिक भिडियोमा समेत काम नगर्न कुसुमलाई आग्रह गरेको थियो । तर, कुसुमले भिडियो भने खेलिरहेकी छिन् । एक डेब्यू नायिकाको करिअर अहिले यता न उताको बनिरहेको छ । दिनेशले न त आफूले नै फिल्मको छायांकन सुरु गर्न सकेका छन्, न त कुसुमलाई अरु फिल्ममा काम गर्नका लागि अनुमती नै दिन सकेका छन् ।