दर्शकसँग सुगमले मागे माफी
गायक सुगम पोखरेलले दर्शकसँग माफी मागेका छन् । अष्ट्रेलियामा आयोजना भएको कन्सर्टमा दर्शकलाई माइक प्रहार गरेको बिषयमा उनले माफीमागेका हुन् । उनले, आफूबाट गल्ती भएको भन्दै आफू भावनामा बगेको उल्लेख गरेका छन् ।
नेपाल ट्युबसँगको कुराकानीमा सुगमले आफू मानसिक रुपमा स्वस्थ्य रहेको पनि उल्लेख गरेका छन् ।
सुगमले भनेका छन्–‘म दर्शकसँग माफी माग्न चाहन्छु । मबाट गल्ती भएको हो । म बेसी भावनामा बहेँ । भगवान् दर्शकप्रति कहिल्यै पनि अनादर मैले गरेको छैन । म आज यही नेपाली समाजले बनाएको गायक हुँ । मैले पिउनु हुँदैनथ्यो । मलाई माफ गर्नुहोस् ।’
सुगमले आफूले मदिरा खान छाडेको बताउँदै एक महिनादेखि फेरि पिउन थालेको पनि उल्लेख गरेका छन् । सुगमले आफू खराब नभएको तर अहिले आफ्नो समय खराब भएको पनि बताएका छन् ।
सुगमले आफ्नो नियत खराब नभएको पनि बताएका छन् । आफूले उक्त दिनमा थोरै मदिरा सेवन गरेको भन्दै उनले दर्शकसँग माफी मागेका हुन् ।
सुगमले आफू अझै पनि राम्रो मानिस बन्ने प्रयासमा रहेको बताएका छन् । उनले आफू मान्छे भएको र दोष अझै पनि रहेकाले त्यसलाई घटाउने प्रयासमा रहेको पनि उल्लेख गरेका छन् ।
शनिबार अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टमा मदिरा पिएर सुगमले दर्शकलाई २ पटक माइकले प्रहार गरेका थिए । भूकम्पले ज्यान गुमाएका नेपालीहरुको संझनामा मौन धारण गर्न आग्रह गर्दा सुगम सम्हालिन सकेनन् र उनले दर्शकलाई अभद्र व्यवहार गरेका थिए ।
प्रतिक्रिया