‘दिमाग खराब’ राजनीतिक फिल्म होइनः निश्चल बस्नेत
कार्तिकको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दिमाग खराब’ले बक्स अफिसलाई चलायमान बनाउने विश्वास फिल्मीकर्मीको छ । दशैंमा तातेको फिल्मी बजार त्यसपछि फेरि सुस्ताएको छ । निश्चल बस्नेतले सात बर्षपछि निर्देशन गरेको यो फिल्मबाट आम दर्शकहरु पनि उत्साहित छन् । फिल्मको प्रचारमा पनि निर्माणपक्षले कुनै कसर बाँकी राखेको छैन ।
विशेषगरि, फिल्म निर्देशन गरेपछि नयाँ ट्रेन्ड बसाउने खुबी भएका निर्देशक बस्नेत यसपटक आफूले आम मानिसको कथा भन्न खोजेको बताउँछन् । मिडियासँगको कुराकानीमा फिल्मलाई लिएर निश्चलले के भने, हामीले उनकै शब्दमा यहाँ प्रस्तुत गरेका छौंः
मैले ‘दिमाग खराब’लाई राजनीतिक फिल्म भनेर सोचेको मात्रै थिएँ भने पनि धेरै राजनीतिक ब्यक्तिहरुसँग भेट्न अथवा बुझ्न जानुपथ्र्यो होला । पहिलो त यो राजनीतिक फिल्म नै होइन । यो एउटा साधारण मान्छेको कथा हो । साधारण मान्छेले आफ्नो जिवनमा के के भोग्दै जान्छ । त्यो भोगाइको वरपर परिवार, परिवार भन्दा अलिक बाहिर समाज, सामाज भन्दा माथि सिस्टम छ ।
त्यस हिसाबले यो फिल्म त्यस्ता सबै स्थितीसँग जोडीएको छ । राजनीतिसँग जो केही जोडीन्छ । राजनीति त हामीसँग हेरक परिस्थितीमा जोडिन्छ । हामी जहाँ बस्छौं, जहाँ काम गर्छौ । ती सबै स्थानमा राजनीतिक हस्तक्षेपका कारणले गर्दा देशको जिम्मा लिएकाहरुले यस्ता सबै घटनाहरुको व्यवस्था मिलाउने जिम्मा पाएका छन् । ती राजनीतिज्ञहरुका कारणले गर्दा सर्वसाधरण व्यक्तिमा असर परिरहेको छ ।
हामी आम सर्वसाधारणमा त्यस्ता कुराहरुले असर पारिरहेका छन् । हामीले ती कुराहरुलाई कसरी प्रतिवाद गछौं र कसलाई जिम्मेवार ठानेर डराउँछौं । त्यस्ता व्यक्तिहरुसँग हामी कस्तो अपेक्षा गर्दछौं भन्ने बारेमा नै मैले हेर्ने कोशिश गरेको छु । मलाई मैले राजनीति वुझ्न सक्छु जस्तो लाग्दै लाग्दैन । त्यो अर्को खालको खेल हो भन्ने लाग्छ । राजनीति भनेको त पुरै देश सम्हाल्ने ठाउँ हो जस्तो लाग्छ । आफ्नो ठाउँ मात्र बनाउने जिम्मा पाएको मान्छेले पनि त पुरै देशलाई वुझेर निर्णय लिने ठाउँ भइसकेपछि म त्यतिको सक्षम छु जस्तो लाग्दै लाग्दैन ।
मैले यो फिल्म निर्देशन गर्ने समयमा तटस्थ भएर सोचेको मात्र हो । फिल्मको पात्र कसरी राजनीतिसँग ठोकिन्छ भन्ने होइन कि पुरै सिस्टमले उसलाई कसरी असर गर्छ । त्यो सिस्टमको कारणले गर्दा उसँगै उसको समाजमा के अप्ठ्यारो भइरहेको छ भन्ने कुरा नै फिल्ममा छ ।
यो एउटा समाजिक कथामा बनेको फिल्म हो । यसमा राजनीति नै झुकेर आउँछ भन्ने देखाइएको छ । किनभने, हामी यहि समाजमा बस्छौं र दिमाग खराबलाई पनि त्यसरी नै वुझाउने कोशिश गरिएको छ । यो फिल्ममा राजनीतिक कथनहरु केही पनि छैन । तर, एउटा व्यक्तिगत कथन भने छ । एउटा व्यक्तिले लिने निर्णय छ । यसैले, एउटा निर्देशक र लेखकले मात्र नभई हामी सबै मिलेर एउटा साधारण मान्छे रहेको पात्र हुँदै यो फिल्मको माध्यमबाट समाजको कथा भन्न खोजिएको हो ।
फिल्ममा एउटा साधारण मान्छेको कथा छ । त्यो पात्रले जसरी राजनीतिलाई देख्छ, सायद मेरो वुझाई पनि त्यस्तै त्यस्तै नै छ । फिल्ममा पनि यस्तै कुराहरुलाई देखाउन खोजिएको छ ।
प्रतिक्रिया