प्रदीप भट्टराईः जसलाई असफल फिल्म बनाउने छुट छैन
विगत केही बर्षदेखि नेपाली फिल्म केको आधारमा चलिरहेको छ ? स्टारडम वा बिषयवस्तु ?फिल्मको सफलताको अवस्था हेर्दा अधिकांश फिल्म चल्नका लागि दर्शकलाई मेकर, निर्देशक, कथावस्तु र कलाकारको समिश्रणले बढी तानेको छ । नेपालमा फेरि पनि निर्देशकको नामबाट फिल्म चल्ने अवस्था सिर्जना भएको छ । थोरै मात्र निर्देशकको सूचीमा प्रदीप भट्टराई अगाडि आउँछन् ।
प्रदीपले दर्शकमाथि यो आशा आफ्नै कारणले बढाइदिएका हुने । विशेषगरि, उनले निर्देशन गरेको फिल्म ‘शत्रु गते’देखि नै दर्शकमा उनीप्रति विश्वास बढेको हो । यसपछि, ‘जात्रा, जात्रै जात्रा, महापुरुष’सम्म आइपुग्दा त उनलाई लिएर दर्शकमा आशा आकाशमा पुगेको छ । यसैले, उनलाई आगामी दिनमा पनि जमिनमा पछारिने छुट छैन ।
प्रदीप विगत केही दिनदेखि फिल्म ‘महाजात्रा’को छायांकनमा व्यस्त छन् । यो फिल्म चैत्रको ९ गतेबाट रिलिज हुँदैछ । फिल्ममा उनीसँग कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ, निर्माता म्याक्स दिपेश खत्रीको इमान्दार टिम छ ।
यतिमात्र होइन, फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, दिव्यदेव पन्त, गौमाया गुरुङ, सुमन कार्की लगायतको सशक्त टिम पनि छ ।
प्रदीप आफूले यसपटक झनै सशक्त फिल्म बनाउने दाबी गर्छन् । चार वटा फिल्म लगातार हिट दिएर दर्शकमाझ आशाको केन्द्रमा रहेका यी निर्देशकलाई अबका दिनमा असफल फिल्म बनाउने छुट छैन ।
यतिमात्र होइन, अब उनका फिल्मले ८–१० करोडको ग्रस कलेक्शनमा मात्र अल्झिएर बस्ने अवस्था पनि सिर्जना हुनु हुँदैन । सायद, यसपटक प्रदीपले अझै बढी सोचेका होलान् । दर्शकले त उनीमाथि पूर्ण विश्वास गरेका छन् ।
प्रतिक्रिया