मौनधारण नगरेको भन्दै अष्ट्रेलियामा सुगमले दर्शकलाई माइकले हाने

सांगीतिक कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा रहेका गायक सुगम पोखरेलले दर्शकलाई माइकले प्रहार गरेका छन् । 

अष्ट्रेलियामा आयोजना भएको सांकृतिक कार्यक्रममा गीत गाउन स्टेजमा उक्लिएका सुगमले दर्शकसँग कुराकानी गरिरहेको सार्वजनिक भएको भिडियोमा हेर्न सकिन्छ । दर्शकलाई उनलाई ‘झिल्के’ गीत गाउन आग्रह गरेका थिए । 

यसपछि, दर्शकलाई सुगमले नेपालमा भूकम्प गएको र १ सय ३३ जनाको निधन भएको भन्दै मौनधारण गर्नका लागि आग्रह गरेका छन् । सुगमले मौन धारण गर्न आग्रह गर्दा पनि दर्शकदिर्घामा भने हल्ला रोकिएको थिएन । 

नेपालीहरुको निधन भएकाले मौन धारण गर्नका लागि बारम्बार आग्रह गर्दा पनि दर्शकमा हल्ला नरोकिएपछि सुगम केही आक्रोशित भएका थिए । यसपछि, उनी आफूले गीत गाइरहेको माइक लिएर स्टेजबाट तल झरेका थिए । उनले, माइकले एक जना दर्शकलाई प्रहार गरेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । 

यसपछि, उनलाई सुरक्षागार्डले समातेर स्टेज पछाडि लैजान खोजेका थिए । सुगम फेरि स्टेज उक्लिए । सुगमको आक्रोश अझै रोकिएको थिएन । यसपछि, उनले माइकले फेरि एक जना दर्शकलाई प्रहार गरेका थिए । सुमगले माइकले प्रहार गरेपछि केही व्यक्तिहरुले उनलाई तानेर स्टेज पछाडि लगेका थिए । 

सुगमको यो व्यवहारको सामाजिक संजालमा तिव्र आलोचना भैरहेको छ । सांगीतिक कार्यक्रममा विदेशमा पुग्दा कलाकारहरुबाट हुने यस्तो खालको व्यवहारले सिंगो कला क्षेत्रलाई नै असर पुग्ने भन्दै आलोचना भैरहेको हो ।
 
सुगमको प्रश्न–‘हामी संवेदनाहिन भएका हौं’ ?

यसैबिच, गायक सुगम पोखरेलले सामाजिक संजाल टिकटकमा एक भिडियो सार्वजनिक गर्दै यो घटनाको बिषयमा स्पष्टिकरण दिएका छन् ।

उनले प्रश्न गरेका छन्–‘के हाम्रो नेपाली समाज यति संवेदनाहिन भएको हो र ? देशलाई दुखिरहेको छ अहिले खासमा । भूँइचालोका कारणले गर्दा । देशलाई दुख्दा मलाई दुख्छ, म नेपाली कलाकार हुँ । हिजोको कार्यक्रममा मौनधारण गरौं भन्दा खेरी । तपाई भिडियोमा देख्न सक्नुहुन्छ । यसैले, मेरो त्यस्तो व्यवहार त्यसैको कारणले भएको हो । कसैको नेपाली मनलाई चित्त दुखाएको भए क्षमा चाहन्छु । तर, सधै नेपाली गीतसंगीतको सेवा गर्नेछु ।’