कलाकारहरु छ्याप्तछ्याप्ती भए, हिरोहरु मिस हुदैछन्ः रेखा थापा
नायिका रेखा थापाले हिरोहरुको परिभाषा बदलिएको बताएकी छिन् । आज आयोजना भएको फिल्म ‘उपहार’को गीत रिलिज कार्यक्रममा बोल्दै रेखाले अहिलेको समयमा हिरो भन्दा पनि कलाकारहरु स्थापित भएको तर्क गरिन् ।
रेखाले भनिन्–‘हामीले हिरो भन्ने वित्तिकै राजेश हमाल, भुवन केसीहरुलाई हेर्दै आएका थियौं । तर, मेरो जेनेरेशनमा हिरोको परिभाषा केही बदलिए । अहिले फेरि हिरो भन्दा कलाकारहरु स्थापित भैरहेका छन् । हिरोहरु आफै आफै झगडा गरेर मिस भैरहेका छन् ।’
रेखाले अहिले कलाकारहरुको राम्रो छाल आएको पनि तर्क गरिन् । उनले भनिन्–‘कलाकारहरुको राम्रो छाल आउँदा हिरोहरु भने मिस भैरहेका छन् । कलाकारको कारणले पनि फिल्म चल्छ भन्ने त पुष्टी भैसकेको छ । तर, हिरोहरु मिस भैरहेका छन् । हामीले सानोमा हेर्दै आएका हिरोहरु अहिले मिस भैरहेका छन् ।’
रेखाले आफूले सधै नै फिल्म क्षेत्रमा नयाँ हिरोलाई मौका दिएको र आफूलाई नयाँ हिरोहरु लक्की पनि बन्ने गरेको बताइन् । फिल्म ‘उपहार’मा समर्पण जंग कार्की हिरोको रुपमा उदाउने रेखाको तर्क थियो ।
कुनै समय रेखा थापालाई नेपाली फिल्म क्षेत्रमा ‘नायक’को रुपमा चिनिन्थ्यो । रेखा थापाको फिल्ममा नायकहरु ओझेलमा पर्ने र उनी एकलौटी हाबी हुने विश्लेषण हुने गरेको थियो । रेखाले फिल्मबाट नै आर्यन सिग्देल, जीवन लुइटेल, आयुष रिजाल, सविन श्रेष्ठ लगायतका हिरोहरु जन्माएकी थिइन् । रेखा आज यस्ता हिरोहरु फिल्म क्षेत्रमा मिस भएको तर्क गरिरहेकी छिन् ।
प्रतिक्रिया