भुवन केसीको उल्टो बाटोः आफै फिल्म बनाउने कि नीति बनाउने ?
चलचित्र विकास बोर्डले आफै फिल्म बनाउने भन्दै ७५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । यसका लागि संचार मन्त्रालयले समेत स्विकृती दिइसकेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र सदस्य के एल वुढाथोकी यो कुरामा बढी अग्रसर देखिएका छन् । उनीहरुले विकास बोर्डले मौलिक फिल्म बनाउने तर्क गरेका छन् ।
उसो त, चलचित्र विकास बोर्डमा भुवन केसी अध्यक्ष भएर आइसकेपछि विकास बोर्डले उल्टो गतीमा दौडिरहेको छ । विकास बोर्ड आफैले तयार पारेका नियमहरुलाई समेत सही तरिकाले लागू गर्न सकिरहेको छैन ।
फिल्म क्षेत्रलाई नियमन गर्ने र फिल्म क्षेत्रको हितका लागि नयाँ नयाँ ऐन बनाउन पहल गर्नुपर्ने विकास बोर्ड आफै फिल्म बनाउन अग्रसर भएपछि अब फिल्म क्षेत्र कता जाने हो भन्ने चिन्ता समेत बढेको छ ।
बोर्डले फिल्म बनाउने भएपछि चलचित्र निर्देशक मनोज पण्डितले सामाजिक संजालमा लेखेका छन्–‘चलचित्र मैत्री नीति बनाएर संसदबाट पारित गरि लागू गर । प्रशासनिक सहजीकरण गरिदेउ । नयाँ र प्रयोगधर्मी सिनेकर्मीलाई उत्प्रेरणा देउ । तर, आफै फिल्म बनाउँछु भन्ने निर्णय नगर । यस्तो अव्यवहारिक निर्णय फिर्ता लिएर चलचित्र विकास बोर्डको विधानलाई सम्मान गर ।’
विकास बोर्डले फिल्म क्षेत्रलाई अगाडि बढाउन गर्नुपर्ने काम थुप्रै छन् । चलचित्र विधेकय विवादस्पद बनिसकेको छ । फिल्म सम्बन्धी संघसंस्थाले विकास बोर्डको सम्पूर्ण कार्यक्रम बहिष्कार गरिसकेको अवस्था छ । फिल्म छायांकन गर्न निर्मातालाई सहज छैन । तर, विकास बोर्डले यी सबै कुरामा सहजीकरण गर्नुको साटो आफै फिल्म बनाउने अड्डी कसेको छ ।
दाङमा बाल फिल्म महोत्सव गरेर केटाकेटीपना देखाएका सदस्य के.एल बुढाथोकी आयल निगमले आफै पेट्रोल पम्प चलाउन हुने, बोर्डले फिल्म बनाउन किन नहुने भन्ने तर्क गर्दै हिडेका छन् ।
आखिर, चलचित्र विकास बोर्डलाई अध्यक्ष भुवन केसीले कहिलेसम्म उल्टो गतिमा हिडाउने हुन्, हेर्न बाँकी छ ।
प्रतिक्रिया