निश्चल बस्नेत भन्छन्–‘ट्रेन्ड सेट गर्छ भनेर फिल्म बनाउदिनँ’
निर्देशक निश्चल बस्नेतले आफूले कहिले पनि ट्रेन्ड सेट गर्ला भनेर फिल्म बनाउने नगरेको तर्क गरेका छन् । कार्तिक २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दिमाग खराब’का बिषयमा पत्रकारहरुसँग कुरा गर्दै निश्चलले भने–‘मैले कहिले पनि यसले ट्रेन्ड सेट गर्ला, यसले कायपलट नै गर्ला भनेर फिल्म बनाउदिनँ । न हिजो लुट त्यसरी बनाएको थिएँ, न आज दिमाग खराब नै त्यो सोचका साथ बनाएको छु । आफूलाई मन लागेको कथा भन्छु, हेर्न सक्ने फिल्म बनाउँछु भनेर नै म काम गर्छु । मैले आफैले हेर्दा पनि यो मैले बनाएको हो भनेर हेर्न सक्ने हुनुपर्छ भन्ने लाग्छ ।’
निश्चलले कुनै फिल्ममा काम गर्दा कमजोरी हुने भन्दै पछि त्यसबाट सिकेर नयाँमा काम गर्ने गरेको बताए । उनले भने–‘केही नयाँ भैदिए त झनै राम्रो भयो । तर, यस्तै गर्छु भनेर कहिले पनि काम गर्दिनँ । मैले लुट बनाउँदा सपनामा पनि यति धेरै माया पाउँछु भनेर सोचेको थिइनँ । दिमाग खराबबाट पनि केही नयाँ होस् भन्ने चाहना त छ, तर हुन्छ भन्ने पक्का छैन । हामीले इमान्दार भएर फिल्म बनाएका छौं । यो कथा भन्न आवश्यक थियो भनेर बनाएका छौं ।’
निश्चलले यो फिल्म हेर्दा मज्जा आउने बताए । उनले भने–‘फिल्म हेर्ने आँखाहरु फरक पर्दै गएपछि वुझ्ने तरिका पनि फरक पर्दै जान्छ । दिमाग खराब एउटा साधारण मानिसको कथा हो । जुन हेर्दा मानिसले आफूलाई नै पात्रमा महशुश गर्छन् ।’
उनले, फिल्म भित्र राजनीतिक विकृतीलाई देखेर आफूले भोगेका दिकदारीहरुलाई पनि मज्जाले प्रयोग गरेको बताए ।
प्रतिक्रिया