‘स्क्रिप्ट डाक्टर’को चर्चा

नेपाली फिल्म क्षेत्रमा अहिले एउटा शब्द चर्चामा सुनिन्छ, ‘स्क्रिप्ट डाक्टर’ । केही नौलो लाग्ने यो शब्द विशेषगरि फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’का कारण चर्चामा आएको हो । फिल्ममा स्क्रिप्ट डाक्टरको रुपमा निर्देशक तथा लेखक मनोज पण्डित छन् । 

उनै, मनोजलाई फिल्म ‘दिमाग खराब’ले पनि ‘स्क्रिप्ट डाक्टर’को रुपमा राखेको छ । फिल्म ‘पशुपति प्रसाद २’को पत्रकार सम्मेलनमा लेखक तथा निर्माता खगेन्द्र लामिछानेले डाक्टरबाट रोग निको भएको भनेर सुनाएका थिए । अर्थात, मनोजले स्क्रिप्टको अप्रेशन गरेपछि भष्मे डनका कमजोरीहरु हट्यो भनेर धेरैले वुझेका थिए । तर, यो फिल्म रिलिज भएपछि भने दर्शक तथा समीक्षकबाट मिश्रित प्रतिक्रिया आयो । यसपछि फेरि ‘स्क्रिप्ट डाक्टर’को चर्चा र आलोचना सामाजिक संजालमा भएको देखिन्छ । 

बुधबार मात्र मनोज पण्डितले स्टाटसमा लेखे–‘आजकल आफैलाई लाग्दैछ, म त सर्प पो भएछु । कति धेरै बिष बोकेर आफैलाई ठुङ्न कुरेर बसेको जस्तो ।’ उनले कही न कही ‘स्क्रिप्ट डाक्टर’को बिषयमा भएको आलोचनामा असन्तुष्टी पोखेका थिए । 

बिहिबार आयोजना भएको फिल्म ‘दिमाग खराब’को पत्रकार सम्मेलनमा ‘पशुपति प्रसाद २’का निर्माता तथा लेखक खगेन्द्र लामिछानेले ‘स्क्रिप्ट डाक्टर’को बिषयलाई लिएर सामाजिक संजालमा मजाक बनाइएकोमा असन्तुष्टी पोखे । उनले, आफूहरुले केही नयाँ कुराको सुरुवात गरेको भन्दै त्यसमा सुरुवातमै आलोचना गर्न नहुने बताए । उनले, फिल्म क्षेत्रकै केही मानिसहरुको स्टाटसको स्क्रिन सर्ट आफूले पाएको भन्दै सुरुवातमै आलोचना गर्नु राम्रो कुरा नभएको तर्क गरे । 

जे भएपनि, नेपाली फिल्म क्षेत्रमा ‘स्क्रिप्ट डाक्टर’को चर्चा सुरु भएको छ । यसले, फिल्म ‘दिमाग खराब’ रिलिज भएपछि अझ बढी चर्चा पाउने निश्चित छ ।