विपिन र वर्षा भन्छन्–‘जोडीको रुपमा हामीले छाप छोड्न नसकेकै हो’

नेपाली फिल्म क्षेत्रमा बेलाबखत केही जोडीहरुको उदय हुन्छ । कुनै समय नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको जोडी सर्वाधिक हिट थियो । आज पनि दर्शकले राजेश र करिश्माको जोडीलाई विर्सिएका छैनन् । 

अहिलेको अवस्थामा भने नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी सर्वाधिक हिट छ । यो जोडीलाई लिएर फिल्म बनाउन निर्माता पनि तछाडमछाड गरिरहेका छन् । यो जोडीको ३ वटा फिल्म रिलिज भैसकेका छन् । अझै, केही फिल्म रिलिजको तयारीमा छन् । 

तर, ५ वटा फिल्ममा एकसाथ काम गर्दा पनि नायक विपिन कार्की र नायिका वर्षा राउतको जोडी हिट हुन सकेको छैन । उनीहरुले जोडीको रुपमा काम गरेको फिल्म हिट भएपनि उनीहरुको जोडीको चर्चा खासै भएको पाइदैन । यो जोडीले ‘जात्रा, जात्रै जात्रा, गोपि, के घर के डेरा’मा काम गरिसकेको छ । यस्तै, फिल्म ‘महाजात्रा’मा पनि उनीहरुले एकसाथ काम गर्दैैछन् । 

५ वटा फिल्मसम्म आइपुग्दा पनि वर्षा र विपिनको जोडी फिल्मीकर्मी र दर्शकमाझ नोटिस हुन नसक्नुको कारण के होला ? यो बिषयमा विपिन भन्छन्–‘हामीले नै उल्लेखनिय छाप छाड्न नसकेको पनि हुनसक्छ । तर, मैले हाम्रो जोडीलाई मनपर्छ भनेर भन्ने दर्शक पनि धेरै भेटेको छु । तर, हामीले नोटिस नै हुने गरि काम गर्न नसकेको पक्का हो ।’

विपिनको कुरामा सहमती जनाउँदै वर्षाले भनिन्–‘पक्कै पनि हामीले दर्शकमाझ छाप छाड्न नसकेको नै हो । अर्कोतिर, हामीले दर्शकलाई ध्यान केन्द्रित हुने जस्तो भूमिका नपाएको पनि हुनसक्छ । हामीले जती पनि फिल्ममा काम गरेका छौं, ती फिल्ममा जोडी नै भएपनि स्क्रिन शेयरिङ भने कम छ ।’

विपिन र वर्षाले ‘महाजात्रा’मा पनि छाप छाड्ने गरि काम गर्ने तर्क गरे ।