माघ २६ मा चार फिल्मको भिडन्त, किन जुध्दैछन् निर्माता ?

दशैंमा समेत मिलेर फिल्म रिलिज गरेर नेपाली निर्माताहरुले नयाँ सन्देश बजारमा दिए । फिल्म रिलिजमा समझदारी कायम गर्न सकिएन भने सबैलाई घाटा लाग्ने निश्चित छ । तर, यो बर्षको माघ २६ गते भने नेपाली फिल्मको चौतर्फी भिडन्त हुने भएको छ । यो मितिमा ४ वटा फिल्म रिलिज हुने पक्का भएको छ । 

यो मितिमा फिल्म ‘हात्तीछाप’का निर्माताले सबैभन्दा पहिले प्रदर्शन मिति तय गरेका थिए । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल लगायतका कलाकारको अभिनय छ । तर, सामाजिक तथा कमेडी कथामा निर्माण भएको यो फिल्मले सोलो रिलिजको अवसर त नपाउने पक्का थियो । अब, यो फिल्मले अन्य ३ फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

यो मितिमा जसिता गुरुङको मुख्य भूमिका रहेको तथा दिवाकर भट्टराइले निर्देशन गरेको फिल्म ‘हनी बनी’ पनि रिलिज हुने पक्का भैसकेको छ । 

आधिकारिक रुपमा घोषणा नभएपनि नायिका रेखा थापाले निर्माण गरेको तथा ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘उपहार’ पनि यही मितिमा रिलिज गर्ने तयारी थालिएको छ । रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल लगायतका कलाकारको अभिनय रहेको यो फिल्मबाट निर्माणपक्ष आशावादी छ । 

तर, अब यही मितिमा माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘दयारानी’ पनि रिलिज हुने भएपछि चौतर्फी भिडन्त पक्का भएको हो । यो फिल्ममा दयाहाङ राई र दिया पुनको मुख्य भूमिका छ । 

फागुण १ गतेको जनयुद्ध दिवस र फागुण ७ गतेको प्रजातन्त्र दिवसको बिदाको कारणले यो मितिमा निर्माताहरु फिल्म रिलिज गर्न तछाडमछाड गरिरहेका हुन् । तर, यसले फिल्म क्षेत्रलाई भने फाइदा हुदैन ।