स्वस्तिमा–निश्चलको सहकार्यः गीत हिट, फिल्म फ्लप, अब के होला ?

नायिका स्वस्तिमा खड्कालाई पत्रकारले सोध्ने एउटा प्रश्न थियो, श्रीमान् निश्चल बस्नेतको निर्देशनको फिल्ममा काम कहिले गर्ने ?

कार्तिकको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दिमाग खराब’ले यसको जवाफ दिएको छ । अब, यी दुईको निर्देशक–नायिकाको रुपमा सहकार्य रहेको फिल्मले बक्स अफिसमा कस्तो व्यापार गर्छ भन्ने प्रश्नको जवाफ मात्र बाँकी छ । 

स्वस्तिमा र निश्चलले नायिका–निर्देशकको रुपमा पहिलो पटक सहकार्य गरे पनि, कलाकारको रुपमा भने यसअघि नै काम गरिसकेका छन् । निश्चलको अभिनय रहेको फिल्म ‘२ रुपैयाँ’को एउटा गीतमा स्वस्तिमाले नृत्य गरिन् । ‘कुटुमा कुटु’ बोलको गीतमा नृत्य गरेकी स्वस्तिमालाई गाउँ गाउँका दर्शकले यही गीतको भिडियोबाट चिने । 

यतिमात्र होइन, यी दुइले नै अभिनय गरेको फिल्म ‘घामड शेरे’मा समावेश ‘साली मन पर्यो’ गीतले पनि दर्शक तथा श्रोताको साथ पायो । तर, बिडम्बना यो फिल्म भने चलेन । फिल्मको मुख्य कलाकारको रुपमा निश्चल र स्वस्तिमाको सहकार्य असफल भयो । 

अब, स्वस्तिमा खड्काका लागि निश्चलको निर्देशनमा सफल हुनुपर्ने चुनौती छ । स्वस्तिमा आफैले पनि केही हप्ता अगाडि आयोजित पत्रकार सम्मेलनमा, निश्चल जस्तो निर्देशक आफूले नेभेटेको बताएकी थिइन् । उनले, निश्चल निर्देशकको रुपमा निकै नै सहज भएको उनको तर्क थियो । 

स्वस्तिमाले दीपेन्द्र के खनालसँग ३ वटा फिल्म, दीपाश्री निरौलासँग एउटा फिल्म, विकासराज आचार्यसँग २ वटा फिल्ममा काम गरिसकेकी छिन् । अब, आफ्नै श्रीमान्को निर्देशनमा बनेको फिल्ममा पनि अब्बल काम गरेर तारिफ पाउनुपर्ने चुनौती त उनीसँग छ । निश्चल–स्वस्तिमाको निर्देशक र नायिकाको रुपमा सहकार्य धेरैको प्रतीक्षामा छ । आशा गरौँ, यसमा उनीहरू सफल हुनेछन् ।