फिल्म खरिदमा अन्तराष्ट्रिय वितरकको हानथाप, खै त अध्ययन ?

केही बर्ष अगाडि नेपाली फिल्मको डिजिटल राइट्स खरिद गर्ने भन्दै डीएआर मुभिज स्थापना गरियो । यो कम्पनी स्थापना भएसँगै यसले आँखा चिम्म गरेर धमाधम नेपाली फिल्मको डिजिटल राइट्स खरिद गर्यो । न त यो कम्पनीका संचालकले फिल्मको बजार बुझे, न त्यसबाट आफूलाई प्राप्त हुने मुनाफा नै वुझे । एकपछि अर्को फिल्म खरिद गर्दै डिजिटल मार्केटमा स्थापित हुने दाउमा थिए लगानीकर्ता । तर, केही फिल्मबाट चुर्लुम्म डुबेपछि अहिले यो कम्पनीले फिल्मको डिजिटल राइट्स खरिद गर्न छाडेको छ । 

यस्तै अवस्था केही बर्ष अगाडि हाइलाइट्स कम्पनीको पनि थियो । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारको फिल्म भन्ने बित्तिकै जति पनि पैसा लगानी गर्दा यसका संचालक पनि डुबे । हाल उनी अष्ट्रेलिया पुगिसकेका छन् । कम्पनी जसोतसो चलिरहेको छ। 

नेपाली फिल्मको डिजिटल मार्केट होस् या ओभरसिज बजार, बेलाबखत यस्ता कम्पनीहरूको उदय हुने गरेको छ, जसले आफूलाई स्थापित गर्नका लागि न त बजार वुझेर काम गर्छन्, न त फिल्मको बिषयवस्तुमा नै उनीहरुको ध्यान जान्छ । पछि, घाटा व्यहोरेपछि उनीहरुको आँखा खुल्छ । 

अहिले नेपाली फिल्मको अन्तराष्ट्रिय बजारको अधिकार खरिद गर्न केही कम्पनीहरूको तँछाडमछाड नै छ । यसमा सबैभन्दा अगाडि सेभेन सिज इन्टरटेन्मेन्ट अगाडि सरेको छ । सेभेन सिजले नेपाली फिल्मको घोषणा हुने वित्तिकै निर्मातासँग अधिकार खरिद गर्ने गरेको छ । ‘पशुपति प्रसाद २ः भष्मे डन, गणपति, अगस्त्य, कार्साङ’ लगायतका फिल्म यो कम्पनीले खरिद गरिसकेको छ । यस्तै एमएसएम इन्टरटेन्मेन्टले छायांकनपनि सुरु नहुँदै फिल्मको ब्रान्ड मात्र हेरेर 'महाजात्रा'को विदेश राइट्स खरिद गरेको छ । अझै, केही फिल्महरू खरिद गर्ने चरणमा यी कम्पनी रहेका छन् । 

यस्तै, अर्को कम्पनी ‘एक्का बास्सा इन्टरटेन्मेन्ट एण्ड लाइभ एट प्रिजेन्ट’ले नेपाली फिल्म ‘रंगेली’को अमेरिका राइट्स खरिद गरिसकेको छ । यीमध्ये, अधिकांश फिल्मको प्रचार सामाग्री त के, छायांकन पनि सुरु भएको छैन । यी कम्पनीहरुले कलाकारको नाम, टिम र ब्रान्ड हेरेर फिल्म खरिद गरेको प्रष्ट हुन्छ । 

यसरी धमाधम फिल्म किन्दा नेपाली फिल्मको विदेशबाट राम्रो आम्दानी हुने रहेछ भन्ने सन्देश बजारमा गएको छ । मिडियामा हरेक दिन फिल्मको विदेश राइट्स विक्रीका खबरले निर्मातालाई लोभ्याउने कुरामा दुईमत छैन । यसले, नयाँ निर्माताहरु कस्तो फिल्म बनाउने, कस्तो फिल्मले बजारमा प्रभाव पार्छ भन्ने कुरामा चासो राख्न भन्दा पनि फिल्म घोषणा गरेर पैसा कमाउने लोभमा पर्ने देखिन्छ । 

अर्कोतिर, फिल्म खरिद गरिरहेका कम्पनीहरुले फिल्मको केही पनि नवुझी काम गर्दा भोलीका दिनमा पछुताउने अवस्था आयो भने त्यो नेपाली फिल्मका लागि पनि सुखद नबन्ने पक्का छ । केही फिल्म नवुझी किन्ने अनी पछि नेपाली फिल्मले डुबायो भन्दै हिड्ने अवस्था आयो भने विदेशी बजार नेपाली फिल्मका लागि बढ्नु भन्दा घट्नेछ । 

जस्तो, गतबर्ष रिलिज भएको फिल्म ‘छड्के २’ले धेरै देशका वितरकको निन्द्रा बिगारेको थियो । जापानको अधिकार खरिद गरेका वितरक रुदै हिड्नु परेको उदाहरण अझै फिल्र्मीकर्मीले विर्सिएका छैनन् । 

फिल्म निर्माण भैसकेपछि सबै कुरा वुझेर फिल्म किन्दा यसले लामो समयसम्म वितरकलाई पनि फाइदा दिन्छ । आज फिल्मका कलाकार र टिम मात्र हेरेर फिल्म किन्ने अनी भोली झुर फिल्म बनाएछन् भन्दै नेपाली मेकरलाई नै गाली गर्दै हिड्ने अवस्था सिर्जना भयो भने त्यो नेपाली फिल्मका लागि दुःखद हुनेछ । 

अहिले यी वितरकहरुले धमाधम फिल्म किन्दा नेपाली फिल्मका मेकरलाई प्रचार गर्ने राम्रो बिषय समेत बन्ने गरेको छ । अर्कोतिर, विदेश र डिजिटल राइट्सबाट पैसा आइहाल्छ नी भन्ने सोच समेत नेपाली मेकरमा हाबी हुन थालेको छ । यसले, राम्रो फिल्म बनाउने भन्दा पनि हतारमा फिल्म बनाएर रिलिज गर्ने होड समेत चल्न थालेको छ । 

कुनै समय वितरकले फिल्म हलमा लगाउँदा फिल्मको बारेमा राम्रोसँग वुझ्ने गरेका थिए । तर, अहिले फिल्मको बारेमा वुझ्न भन्दा पनि तछाडमछाड गरेर फिल्म किन्ने गलत शैली विकसित भैरहेको छ । यसले, लामो समयसम्मका लागि नेपाली फिल्म क्षेत्रलाई फाइदा भने गर्दैन । यो बिषयमा फिल्म किनिरहेका अन्तरराष्ट्रिय वितरकले गम्भिर भएर सोच्न आवश्यक छ । किनकी, कुनै पनि काममा हतार गरेर फुर्सदमा पछुताउन भन्दा सोचेर काम गर्दा त्यसले फाइदा दिन्छ ।