‘पशुपति प्रसाद ३’को सर्वाधिक डिमाण्ड सहित दोस्रो हप्तामा 'पशुपति प्रसाद २: भष्मे डन'
गत शनिबार अर्थात् फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको फिल्म 'पशुपति प्रसाद २: भष्मे डन' दोस्रो हप्तामा प्रवेश गरेको छ ।
प्रदर्शनकै दिन व्यवसायिकरुपमा बम्पर ओपनिङ गरेको यो फिल्म नेपाली बक्स अफिसमा २ करोड ४० लाखको बम्पर ओपनिङ गरेको थियो । त्यस यता फिल्मले आक्रामक व्यापार गरिरहेको छ । फिल्मले पहिलो हप्तामा कति कमाइ गर्यो त्यस बारेमा निर्माण पक्षले व्यापारिक आँकडा जानकारी गराएकै छैन ।
करिब सात महिनाको अन्तरालपछि नेपाली फिल्म क्षेत्रमा व्यापारिक हिसाबले 'पशुपति प्रसाद २: भष्मे डन'ले सफलताको ढोका खोल्न सफल भएको हो ।
दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको यस फिल्मले दशैँ बिदाको भरपूर फाइदा लिइरहेको छ । विशेषगरि, समीक्षकबाट फिल्मले तारिफ पाएपछि दर्शकहरूमा पनि यो फिल्मप्रति भरोसा अझै बढेको छ । जसको प्रभाव बक्स अफिसमा देखिन्छ। फिल्मले पहिलो हप्तामा व्यापारलाई एउटै रफ्तार समातेको थियो ।
दोस्रो सातामा पनि उच्च शो संख्या र दर्शक साथसहित प्रदर्शन भइरहेको छ । अब फिल्मले दोस्रो साता पनि पहिलो हप्ता झैँ गर्नेमा निर्माण पक्ष आशावादी रहेको देखिन्छ । तर यस अघि भएका दशैँ बिदा समाप्त भएसँगै पहिले झैँ व्यापारमा एकरूपता नहुने देखिन्छ ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् ।
यो फिल्मले पशुपति परिसरमा भष्मे डनको यात्रा, कसरी उसको जीवनमा परिवर्तन आउँछ भन्ने कथालाई प्रस्तुत गरेको छ । फिल्मको क्लाइमेक्समा राखिएको सस्पेन्स पाटोले फिल्मप्रति दर्शकको उत्साह अझै बढेको छ भने तेश्रो शृङ्खलाको माग पनि दर्शकले गरिरहेका छन् ।
प्रतिक्रिया