खगेन्द्र लामिछानेः निर्मातामा चले, तिहारमा कलाकारको रुपमा परिक्षा

यदि, कसैका लागि यो बर्षको दशैं र तिहार सबैभन्दा बढी महत्वपूर्ण छ भने त्यो कलाकार तथा निर्माता खगेन्द्र लामिछानेका लागि देखिन्छ । 

यो बर्षको दशैंमा उनले निर्माण गरेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज भयो । फिल्मले बक्स अफिसमा रिलिजको ८ दिनमा बिष्फोटक व्यापार गर्यो । फिल्मबाट यसपटक खगेन्द्रले राम्रै पैसा कमाउने पक्का छ । डिजिटल राइट्स, ओभरसिज राइट्सबाट राम्रो पैसा कमाएका खगेन्द्रले नेपालका हलबाट पनि मुनाफा बटुल्नेछन् । जसकाकारण, उनका लागि यो बर्षको दशैं सुखद बन्यो । 

अब, उनै खगेन्द्र कलाकारको रुपमा तिहारमा दर्शकमाझ आउँदैछन् । तिहारमा उनी अभिनित फिल्म ‘दिमाग खराब’ रिलिज हुँदैछ । यो फिल्मले उनको क्रेजलाई विश्लेषण गर्ने मौका दिनेछ । ‘पशुपति प्रसाद’बाट उनको अभिनयको सर्वत्र तारिफ भयो । यो फिल्मले उनलाई आम दर्शकमाझ स्थापित गरिदिएको हो । उनै, स्थापित कलाकारले यो बर्षको दशैंमा सफल भएका छन् । अब, कलाकारको रुपमा उनी तिहारमा परिक्षा दिने तयारीमा छन् ।

यसपटकको तिहार पनि उनका लागि सुखद बन्यो भने, यो बर्षको सर्वाधिक लक्की फिल्मीकर्मी उनी नै हुनेछन् । जसले, फिल्मबाट नाफा पनि कमाउने छन्, कलाकारको रुपमा दर्शकको माया पनि पाउनेछन् । खगेन्द्रलाई दुई फिल्मको चटारोले भ्याई नभ्याई नै छ ।