कलाकार प्रकाश घिमिरेको स्वास्थ्य सुधारोन्मुख, मान्छे चिन्न र बोल्न सक्ने भए

लडेर गम्भीर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । 

शुक्रबार बिहान घाँस काट्ने क्रममा लडेर घाइते भएका घिमिरेको हाल पोखराको मणिपाल शिक्षण अस्पतालको आइिसयू कक्षमा उपचार भइरहेको छ ।

शनिबार घिमिरेलाई अस्पताल भेट्न पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताएका छन् । साथै, घिमिरे बोल्ने र सजिलै मानिस चिन्ने अवस्थामा रहेको उल्लेख गरेका छन्।

प्रमुख आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अभिनेता प्रकाश घिमिरे ज्यूको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको छ। आईसियुमा उपचाररत उहाँले मलाई चिन्नु भयो । उहाँको अबस्था बुझ्न हस्पिटल पुग्नु भएका उहाँका सहकर्मी बरिस्ठ कलाकार अनुप बराल, खगेन्द्र लामिछाने र मैले हस्पिटलका मे.सु. डा.अभिषेक मास्के ज्यूबाट उहाँको वर्तमान अबस्थाको जानकारी प्राप्त गर्यौ।’ 

 डा.मास्केले उपचारमा कुनै कसर बाँकी नराखेका बताएको समेत प्रमुख आचार्यले जानकारी गराएका छन् । 

गायक विनोद वानियाँले पनि घिमिरेले साथीहरू चिन्न थालेको बारे सामाजिक सञ्जाल मार्फत नै जानकारी गराएका छन्। फोक्सोमा केही समस्या देखिएपनि अब उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नं ३ स्थित प्रेम शेरचनको घर नजिकै ब्लकको पर्खाल समाएर घाँस काटिरहेका घिमिरे ब्लकको पर्खाल भत्किँदा एक्कासि भीरबाट खसेका थिए । उनी खसे लगत्तै शेरचनले साथीभाईहरुलाई खबर गरेपछि झाडि भएको स्थानबाट खोजेर करिब २० मिनेटमा उद्धार गरी अस्पताल पुर्याइएको थियो ।

करिब चार घन्टा इर्मजेन्सिमा राखेर उपचार गरेपछि उनलाई हिजो अपरान्हदेखि आईसियुमा राखेर उपचार गरिएको हो । अस्पतालका अनुसार उनको टाउकोमा र फोक्सोमा चोट लागेको छ । ढाडमा तीन ठाउँमा समस्या देखिएको छ भने ब्लड प्रेसर घटेकोले औषधीबाट त्यसको सन्तुलन कायम गर्ने प्रयास गरिएको थियो ।

घिमिरेले हालसम्म झण्डै ५० वटा नेपाली फिल्ममा काम गरिसके । तीन दर्जन नाटकमा अभिनय गरिसकेका उनलेकेही टेलीफिल्म र छोटा फिल्ममार्फत् समेत आफ्नो अभिनय कौशल देखाइसकेका छन् ।

टलकजंग भर्सेस टुल्के, छ माया छपक्कै, साइँली, फन्को, जात्रा, जात्रैजात्रा, पशुपतिप्रसाद, पञ्चेबाजा, घामपानी र पानीफोटो लगायत फिल्ममा अभिनय गरेका छन् । घिमिरे अभिनीत ‘पशुपति प्रसाद २: भष्मे डन’ हाल प्रदर्शनमा छ ।