‘रङ्गेली’को अमेरिका वितरण अधिकार बिक्री, कलाकार सहित रेड कार्पेट प्रिमियर पनि हुने

आगामी फागुन २५ गते अर्थात् महाशिवरात्रिको अवसर पारेर रिलिज हुने फिल्म ‘रङ्गेली’को संयुक्त राज्य अमेरिकाको वितरण अधिकार बिक्री भएको छ ।

फिल्मको अमेरिकाको वितरण अधिकार ‘एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्ट’ले खरिद गरेको हो । यो फिल्म हाल छायाङ्कनको अन्तिम चरणमा रहेको छ। दशैँको समयमा यसको छायाङ्कन केही दिन रोकिएको थियो ।

फिल्मको अमेरिकाको वितरण अधिकार बिक्री सँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्ससको ड्यालसमा भिआइपी रेड कार्पेट प्रिमियर पनि हुने बताइएको छ । सान फ्रान्सिस्को र ड्यालसमा प्रिमियरमा फिल्मका प्रमुख कलाकारहरूको उपस्थिति रहने निर्देशक अर्जुन सुवेदीले बताए ।

यसअघि नै यस फिल्मको अस्ट्रेलियाको वितरण अधिकार बिक्री भइसकेको छ । अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता ‘ग्रान्ड प्रिमियर’को समेत तयारी भएको छ । साथै, जापान, कोरिया र हङकङको लागि वितरण अधिकार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले खरिद गरिसकेको छ ।

आगामी मार्च ८ तारिख यो फिल्म नेपालसँगै नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुने पक्का भइसकेको छ । सोही मितिमा रिलिज गर्न अन्य केही मुलुकहरूमा पनि वितरकहरूसँग सम्झौता हुने तयारीमा रहेको निर्माता जीतेन्द्र खतिवडाले बताए ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।

यस फिल्मका गीतहरूमा हर्क साउदको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो फिल्मलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।