बक्स अफिसमा नेपाली फिल्मः दशैं फाप्यो, तिहार के होला ?

यसपटकको दशैं पनि नेपाली फिल्मका लागि गतबर्षको दशैं सुखद बनेको छ । दशैंको लामो बिदालाई नेपाली फिल्मले सदुपयोग गरेका छन् । दशैंको अवसरमा रिलिजमा आएका ‘पशुपति प्रसाद २ः भष्मे डन र परदेशी २’ले बक्स अफिसमा सुखद कमाई गरे । यी दुई फिल्मको लाइफ टाइम कलेक्शन आइतबारदेखिको व्यापारले अझै निर्धारण गर्नेछ । 

दशैं नेपाली फिल्मका लागि सुखद बन्दै गर्दा रिलिजमा आएका दुई हिन्दी फिल्मले भने खासै सुखद कमाई गर्न सकेनन् । दशैंमा नेपाली दर्शकले नेपाली फिल्मलाई नै माया गरेका छन् । 
 
अब, अर्को महत्वपूर्ण पर्व तिहार पनि नजिकिदै छ । तिहारमा नेपाली फिल्म ‘दिमाग खराब’ रिलिज हुँदैछ । निश्चल बस्नेत निर्देशित यो फिल्मले पनि बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । 

दशैंमा जस्तै तिहारमा पनि नेपाली फिल्मलाई हिन्दी फिल्मको चुनौती भने छ । तिहारमा सलमान खान र कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर ३’ रिलिज हुँदैछ । नेपाली फिल्म कार्तिकको २४ गतेबाट रिलिज हुँदा बलिउड फिल्म भने कार्तिकको २६ गतेबाट रिलिज हुँदैछ । 

तिहार पर्व पनि सुखद बनेको अवस्था नेपाली फिल्मले राहतको लामो श्वास फेर्नेछ । यसपटक, निश्चलको नाम, दयाहाङ राई, खगेन्द्र लामिछाने जस्ता कलाकारको अभिनयले दर्शक उत्साहित छन् । तर, सात बर्षपछि फिल्म निर्देशनमा फर्किएका निश्चलको फिल्मको बिषयवस्तु नै दर्शकलाई हलसम्म लामो समयसम्म तान्ने आधार हो । 

तिहारमा ‘दिमाग खराब’ चलेको खण्डमा यो बर्ष सुपरहिट हुने फिल्मको संख्या ५ पुग्नेछ । साथै, दर्शकले राम्रो फिल्म बनेको खण्डमा साथ दिनेछन् भन्ने पुष्टी समेत हुनेछ ।