विपिन र स्वस्तिमालाई ‘पशुपति प्रसाद २’ले दियो राहत
कुनै पनि फिल्मले व्यापारिक रुपमा सफलता पाउँदै गर्दा त्यसले फिल्म क्षेत्रलाई त खुशी बनाउँछ नै । तर, फिल्म सफल हुँदा त्यसले कलाकारको करिअरको ग्राफलाई पनि उकालो लगाउँछ ।
कार्तिकको ४ गतेबाट रिलिजमा आएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले व्यापारिक रुपमा सफलता पाइरहेको छ । आजसम्मको रिपोर्ट हेर्दा फिल्मले निर्मातालाई नेपालबाटै राम्रो मुनाफा दिने देखिन्छ । यतिमात्र होइन, अब यो फिल्मले यो बर्ष नै रिलिज भएको फिल्म ‘जारी’को १७ करोडको रेकर्डलाई ब्रेक गर्छ या गर्दैन भन्नेतर्फ धेरैको नजर परेको छ ।
यो फिल्म चल्दा मुख्य २ कलाकारहरु नायक विपिन कार्की र नायिका स्वस्तिमा खड्कालाई ठूलो राहत मिलेको छ । किनकी, विपिनको यो बर्ष मात्र ‘प्रसाद २ र एक भागवत् र एक गीता’ नामक फिल्म असफल बनेका थिए । यी दुबै फिल्म नचल्दा विपिनको करिअरलाई नै समस्या परेको थियो ।
तर, फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ सफल भएपछि भने विपिनलाई निकै नै फाइदा भएको छ । निरन्तर असफल फिल्मले हैरान बनेका विपिनका लागि यो फिल्म संजिवनी बुटी बनेर आएको देखिन्छ । उसो त, यो फिल्म चल्नुको पछाडि विपिन मात्र मुख्यकारण होइनन् । तर, पनि फिल्म चल्दा कलाकारलाई हुने फाइदा विपिनले पनि लिने पक्का छ ।
यस्तै, नायिका स्वस्तिमा खड्काका लागि त यो फिल्मले ठूलो राहत दिएको छ । उनको लगातार ५ वटा फिल्म असफल भएका थिए । यो बर्ष मात्र उनी अभिनित फिल्म ‘एैँचो पैँचो’ बक्स अफिसमा असफल भयो ।
यो अगाडि उनले अभिनय गरेका ‘हजार जुनी सम्म, घामड शेरे, चिसो मान्छे, चपली हाइट ३’ले पनि राम्रो प्रतिक्रिया पाउन सकेनन् । तर, यो फिल्म चलेपछि स्वस्तिमाको फ्लपको यात्रा रोकिएको छ । अब, तिहारमा रिलिज हुन लागेको फिल्म ‘दिमाग खराब’ पनि चलेको खण्डमा स्वस्तिमालाई निकै फाइदा हुनेछ ।
तर, फिल्म सफलता र असफलताको यात्रा चलिरहँदा स्वस्तिमाले आफ्नो भूमिका रोज्नका लागि भने ध्यान नदिएको टिप्पणी हुन थालेको छ ।
प्रतिक्रिया