सात महिनामा ४ फिल्म चले, बिदाको भरपुर सदुपयोग

नेपाली फिल्मका लागि नयाँ बर्ष, तिज र दशैं सधै नै फलिफाप बन्दै आएको छ । अन्य समयमा दर्शकको साथ नपाएपनि चाडपर्वको समयमा भने नेपाली फिल्मलाई दर्शकको साथ बढी मिलेको देखिन्छ । 

यो बर्षको ७ महिनामा फिल्मको व्यापार हेर्दा पनि यस्तै देखिएको छ । नयाँ बर्षमा रिलिज भएर बम्पर व्यापार गरेको फिल् ‘जारी’ होस् या तीजको बिदाको फाइदा उठाएको फिल्म ‘नाङ्गो गाउँ’ नै किन नहोस् । 

अनी, दशैंमा केन्द्रित रहेर रिलिज भएका ‘परदेशी २ र पशुपति प्रसाद २ः भष्मे डन’ नै किन नहोस् । यी चारै फिल्मलाई मुख्य बिदाले निकै ठूलो साथ दिएको छ । 

नयाँ बर्षमा रिलिज भएको ‘जारी’ बाहेक चलेका अन्य ३ फिल्मको वर्ड अफ माउथ मिश्रित छ । तर, यी फिल्मलाई बिदाले भरपुर साथ दिएका छन् र निर्मातालाई राम्रै मुनाफा दिलाउन सफल भएका छन् । 

उसो त, ७ महिनामा ४ वटा फिल्म मात्र चल्नु सुखद कुरा होइन । वैशाख, जेठ र असारमा ठूला ठूला ब्यानर र आशा गरिएका फिल्महरु असफल भएका छन् । यसैले, यस बर्षको ७ महिना व्यापारिक रुपमा नेपाली फिल्मका लागि सफल मान्न सकिदैन । 

तर, तिहारमा रिलिज हुन लागेको ‘दिमाग खराब’देखि नयाँ बर्षको छेकोमा रिलिज हुन लागेको ‘डिग्री माइला’सम्म पुग्दा नेपाली फिल्मले सफलताको दर बढाउँछ भन्नेमा विश्वास गर्न सकिन्छ । 
चारवटा फिल्मको अहिलेसम्मको व्यापारिक आँकडा हेर्दा ‘जारी’ ब्लकबस्टर भएको छ । ‘नाङ्गो गाउँ’ हिट हुँदा ‘भष्मे डन र परदेशी २’ सुपरहिट हुने बाटोमा देखिएका छन् । आइतबारबाट यी दुबै फिल्मले गर्ने व्यापारले लाइफ टाइम कलेक्शन अनुमान गर्न सकिन्छ ।