पश्चिम नेपालमा राम्रो चल्दैछ ‘परदेशी २’
विजयादशमीको छेको पारेर असोजको २६ गतेबाट रिलिजमा आएको फिल्म ‘परदेशी २’ले दोश्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । फिल्मले दशैंको बिदाको फाइदा राम्रैसँग उठाएको देख्न सकिन्छ । भोलीबाट तेश्रो हप्तामा प्रवेश गर्न लागेको यो फिल्मको लाइफ टाइम आइतबारदेखि फिल्मले गर्ने व्यापारमा बढी निर्भर रहनेछ ।
तर, दशैंको बिदालाई भरपुर सदुपयोग गरेको फिल्मले निर्माता राजेश बंशललाई भने सुरक्षित बनाएको छ ।
नारायण रायमाझीको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई पश्चिम नेपालमा अझ बढी रुचाइएको छ ।
फिल्ममा दर्शकको अकुपेन्सी हेर्दा काठमाडौं भन्दा काठमाडौं बाहिर बढी देखिन्छ । अझ, पश्चिम नेपालमा फिल्मप्रति दर्शकको उत्साह बढी देखिएको छ ।
फिल्मले मोफसलमा दर्शकको राम्रो साथ पाएपछि कलाकारहरु देश दौडाहामा पुगेका थिए ।
बीबी अनुरागीको संगीत, रमेश बीजीको कथामा तयार भएको यो फिल्मले समीक्षकबाट भने मिश्रित प्रतिक्रिया पाएको थियो । विदेशमा पुगेको छोरा र नेपालमा रहेकी आमाको मर्मस्पर्शी कथाले दर्शकलाई छोएको देखिन्छ ।
फिल्मलाई यसको नामले समेत फाइदा दिएको छ । किनकी, फिल्म ‘परदेशी’ व्यापारिक रुपमा सफल भएको थियो भने यसको कथालाई दर्शकले मन पराएका थिए । यसपटक, फिल्मको नामले यसको सिरिजलाई बढी साथ दिएको छ ।
प्रतिक्रिया