'पशुपति प्रसाद २ भष्मे डन’ समिक्षा: भष्मेको आँखाबाट हेरिएको सफल सिक्वेल

कुनै पनि हिट फिल्मको पछाडि २ वा अरू कुनै अंक थपेर निर्माण गर्दै गर्दा निर्देशक र निर्माता एउटा कुरामा स्पष्ट हुनुपर्छ, त्यो हो आखिर यसको सिक्वेल वा सिरिज किन बनाउने ?

नामको मात्र क्रेडिट लिएर पैसा कमाउने वा दर्शकले दिएको विश्वासलाई अझै कसिलो बनाउने । यति कुरामा स्पष्ट नभइ बनेका अधिकांश सिक्वेल वा सिरिज अर्थहीन हुन पुग्छन् । 

नेपालमा पछिल्लो केही समययता हिट फिल्मको सिरिज वा सिक्वेल बनाउने र त्यसको बलमा पैसा कमाउने शैली बढेको छ । धेरै मेकर यसकै लोभमा फस्दा सिरिज वा सिक्वेल ध्वस्त भएका छन् र दर्शक गाली गर्दै निस्किएका छन् । 

फूलपाती अर्थात् शनिबारबाट रिलिजमा आएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ ७ वर्ष अगाडि निर्माण भएको फिल्म ‘पशुपति प्रसाद’को सिक्वेल हो । फिल्मको कथा जहाँ सकिएको छ, त्यहीबाट सुरु हुन्छ र अन्त्यसम्म पनि पहिलो शृङ्खलाको कथालाई कहीँ कतै पनि छाड्दैन । यसैले, निर्देशक दीपेन्द्र के खनाल र लेखक तथा निर्माता खगेन्द्र लामिछानेले सिक्वेलको वास्तविकतालाई आत्मसाथ गरेको देखिन्छ । 

यसो भनिरहँदा फिल्मको कथावस्तु के हो, यसको सबल र कमजोर पक्ष के हुन् ? दशैंको समयमा यो फिल्म हेर्दा दर्शकको समय र पैसाको बचत हुन्छ या हुँदैन, हामी यसको बारेमा चर्चा गर्दैछौं । 

कथावस्तु

‘पशुपति प्रसाद’को निधन भएपछि पशुपति परिसरमा हाबी छ भष्मे डन । उसकै राज पशुपति परिसरमा चलिरहेको छ । यसपटक उसले पशुपति प्रसादको मित बालाई आफ्नो बा बनाएको छ । तर, नागरिकताको अभावमा छटपटिएको छ । यसका लागि उसले आफ्नो जन्म स्थान र बाबु आमाको खोजी गर्न थाल्छ । तर, उसले पशुपति प्रसादको निधन भएपछि झगडा नगर्ने कसम पशुपतिनाथ भगवान्सँग खाएको हुन्छ ।

यसैले, यसपटक उसले काममा खटाएका केटाहरूले मात्र लडाई गरिरहेका हुन्छन् । यही बिचमा पशुपति परिसरमा सौगात मल्ल अर्थात् कालीप्रसादको प्रवेश हुन्छ । कालीप्रसाद र भष्मे डनको द्वन्द्वमा कथा अगाडि बढ्छ । डान्स बारमा काम गर्दा गर्दै भागेर पशुपतिनाथ परिसरमा आएकी मैना अर्थात् दुर्गा माता (स्वस्तिमा खड्का) र भष्मे डन अर्थात् विपिन कार्कीबिच माया पलाउन सुरु हुन्छ । अर्कोतिर कालीप्रसाद अर्थात् सौगात मल्लसँगको उसको द्वन्द्व कायम नै छ । यही द्वन्द्वका साथ अगाडि बढेको फिल्ममा भष्मे डनले नागरिकता पाउँछ कि पाउँदैन ? आफ्नो बाबु आमालाई भेट्छ कि भेट्दैन ? दुर्गा मातासँगको उसको प्रेम सफल हुन्छ या हुँदैन ? कालीप्रसाद र भष्मेको द्वन्द्व कहाँ पुग्छ ? यी सबै प्रश्नको उत्तर फिल्म हलमा गएपछि मात्र पाइन्छ । 

सबल पक्ष

फिल्मले सिक्वेलको लेगेसीलाई कहीँ कतै पनि छाडेको छैन । पशुपति प्रसाद हेरेका दर्शक यो फिल्मसँग अन्तिमसँग बाँधिन सक्छन् । यो फिल्मले नाटकीय शैलीमा समाजमा सुशासनको प्रत्याभूति हुन नसकेको कुरालाई उठान गरेको छ । साथमा, आफ्नो जिन्दगीमा ठोकिन आइपुगेका विभिन्न प्रणालीसँग दिक्क भएर फरक फरक बाटो रोजेको मानिसको कथा फिल्ममा देखाइएको छ । फिल्मको संवाद पक्ष बलियो छ । भष्मे डन होस् या प्रकाश घिमिरे अर्थात् मित बाले बोल्ने संवादले दर्शकलाई फिल्ममा बाँधेर राख्छ । स्वस्तिमा खड्का किन दुर्गा माता बन्न बाध्य भइन्, यसले दर्शकको मन रसाउँछ । 

एउटा कुरा के बिर्सन हुँदैन भने, यो पशुपति प्रसादको नभएर भष्मे डनको कथा हो । भष्मे डनको शैली पशुपति प्रसादको भन्दा विल्कुलै फरक छ । यसैले, निर्देशक र लेखकले भष्मे डनको कोणबाट फिल्म भन्दा उसको हाउभाउ, उसको शैलीलाई मज्जाले देखाएका छन् । ७ वर्षको अवधिमा भष्मेमा आएको परिवर्तनलाई निर्देशकले गज्जबले देखाएका छन् । क्यान्डी क्रस खेल्ने भष्मे अब पब्जी खेल्ने भएको छ, जिन्दगीमा लफडा मात्र गर्ने भष्मे अब नागरिकताको खोजीमा छ र आफै व्यवसाय गरेर मालामाल बन्ने दाउमा छ । समयको परिवर्तनसँगै लेखकको कलम फेरिएको छ, यो सुखद कुरा हो । यसपटक भष्मेसँग पंगा लिन तयार भएको पात्र कालीप्रसाद उर्फ नागाको पृष्ठभूमि पनि बलियो छ । उ किन, पशुपति प्रसादसँग पंगा लिने अवस्था आयो भन्ने कथाले दर्शकको मन छुन्छ । नेपालको स्वास्थ्य प्रणालीमा देखिएको विकृति र हराउँदै गएको मानवीय संवेदनाको कथालाई कालीप्रसादको कोणबाट निर्देशकले बेजोडले भनेका छन् । 

कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) को अभिनय मौलिक छ । अन्य फिल्ममा लाउड सुनिने उनी यसमा मौलिक सुनिएका छन् । यसरी हेर्दा, नागा योपटक भष्मे माथि भारी परेको देखिन्छ । जब नागा पर्दामा देखिन्छ, दर्शकले भष्मे भुल्छन् । नागा रुँदा दर्शक सँगै रुन्छन्, हाँस्दा सँगै हाँस्छन् । दर्शकलाई नागाको पृष्ठभूमिमा लुकेको कथाले छोएको छ ।   फिल्ममा एक दृश्य छ, जहाँ संवादमै भनिएको हुन्छ, छ्या ! कस्तो रुने पनि हाँस्ने पनि एकै पटक भयो । फिल्म पनि यही संवाद जस्तै बनेको छ । कतै रुवाउने र फेरि रुवाउँदा रुवाउँदै हँसाउने । समग्रमा फिल्म सुन्दर बनेको छ । पशुपति प्रसादमा जत्तिको इमोसन महसुस गर्न नसके पनि फिल्मले दर्शकलाई निराश भने बनाउने छैन । हामीले माथि नै भनिसकेका छौँ, यो पशुपति प्रसादको भावुक कथा होइन, भष्मे डनको कथा हो । यसैले, फिल्मलाई भष्मे डनको आँखाबाट हेर्न आवश्यक छ । 

फिल्मको छायांकनपक्ष पनि उत्कृष्ट छ । कतिपय दृश्यहरूले त फिल्मले भन्न खोजेको कुरालाई दृश्यबाट नै व्यक्त गरिदिएका छन् । निरज कँडेल फिल्ममा उत्कृष्ट काम गर्न सफल छन् । 

तर, यति हुँदा हुँदै पनि ‘पशुपति प्रसाद २ः भष्मे डन’मा कमजोरी नै नभएका भने होइनन् । यो फिल्मको दोश्रो हाफमा केही दृश्यहरू दोहोरिएका छन् । भष्मे डन र नागाको द्वन्द्वमा आउने उतारचढावका दृश्यलाई बारम्बार दोहोर्‍याउँदा दर्शकलाई नयाँपन नलाग्न सक्छ । फिल्मले जीवन र दर्शनका कुरालाई संवादबाट बढी बुझाउन खोजेको छ । यसले, दर्शकलाई संवाद लामा लाग्न सक्छन् । 

फिल्म भित्र पशुपति प्रसाद मा जस्ता इमोशनल दृश्य र संवाद कम छन् । यसले, पशुपति प्रसादकै जस्तो मेकिङ र कथा खोज्ने दर्शकका लागि केही न केही खल्लो महसुस हुन सक्छ । 

पशुपति प्रसाद २ः भष्मे डन दशैंको समयमा परिवारसँग बसेर रमाउने एउटा दरिलो फिल्म हो । जसले, दर्शकलाई भष्मे डनको नयाँ दुनियाँमा लैजान्छ र सस्पेन्स पाटो राख्दै तेश्रो भागको प्रतीक्षा व्यग्र रूपमा गराउन बाध्य हुन्छ । यसैले, यसपटक दशैंमा परिवारसँग बसेर ‘पशुपति प्रसाद २ः भष्मे डन’ हेर्दा समय र पैसा दुवैको बचत हुन्छ । 

निर्देशकले तेश्रो शृङ्खला पनि बनाउने पक्का यो फिल्मको अन्तिममा गरिसकेका छन् । यसैले, दोश्रो शृङ्खलाले दिन नसकेका कैयौँ प्रश्नको जवाफ तेश्रो शृङ्खलाले दिनेछ भन्ने कुरामा आशा गर्न सकिन्छ । 

हामी फेरि पनि भन्छौँ, पशुपति प्रसाद २ः भष्मे डन पशुपति प्रसादको कथा होइन, भष्मे डनको कथा हो । यसैले, यसलाई भष्मे डनकै आँखाबाट हेर्न जरुरी छ ।