सन्तोष सेनले घोषणा गरे ‘बलिदान’, अर्को वर्षको फूलपातीमा रिलिज
आसुशेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘बलिदान’को बडादसैँको फूलपातीको अवसर पारेर शीर्षकसहितको ‘थिम लुक’ सार्वजनिक गरिएको छ ।
‘प्रेमगीत’ फेम्ड निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो मेगा प्रोजेक्ट ‘बलिदान’को शीर्षकसहितको ‘थिम लुक’ सार्वजनिक गरेका हुन्।
फिल्मलाई सन्तोष सेन आफैंले निर्देशन गर्ने तयारी रहेको छ । सेनको यो दोस्रो निर्देशकीय फिल्म हुने छ।
यस फिल्मको थिम पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । फिल्म आगामी वर्ष २०८१ को दशैंको फूलपातीमा प्रदर्शन हुने जानकारी गराइएको छ ।
फिल्ममा पवन ब्राडफोर्ड विस्ट निर्माता तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरीलगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस फिल्मको स्क्रिप्ट डक्टरको रूपमा मनोज पण्डित छन् ।
‘थिम लुक’मा सार्वजनिक सामग्रीअनुसार ‘बलिदान’को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गबीच हुने अधिकार तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलन र परिणामलाई चित्रण गरिएको छ ।
राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गबीच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूका उत्पत्ति, कारण र परिणामको कथामा फिल्म निर्माण हुने निर्देशक सेनले जानकारी दिए । उनले यो फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन् ।
फिल्मको छायांकन तिहारपछि सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया