‘पशुपति प्रसाद २: भष्मे डन’को 'सुनामी' सुरुवात

फूलपातीको अवसर पारेर आज शनिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ले बक्स अफिसमा आक्रामक ओपनिङको सुरुवात गरेको छ ।

फिल्म सात वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको ‘पशुपति प्रसाद २ :भष्मे डन’ देशभर प्रदर्शनमा आएसँगै बिहानीका अधिकांश शोहरु ‘हाउसफुल’ भएका छन् । फिल्मप्रति दर्शकको क्रेजलाई हेर्ने हो भने सुनामी आए सरह नै भएको देख्न सकिन्छ । यस अघि फिल्मको एडभान्स टिकट बुकिङमा दर्शकको अनपेक्षित आकर्षण देखिएको थियो ।

फिल्मले दशैंको एक साताको लामो बिदा भएकाले आजै देखि हरेक हलमा फिल्मको बुकिङ हाउसफुल हुँदै गइरहेका छन् । फिल्मको आजकै ओपनिङले घरेलु बक्स अफिसमा आक्रामक व्यापार भइरहेको अनुमान लगाउन सकिन्छ ।

फिल्मलाई देशभरका अधिकांश मल्टीप्लेक्सहरुले हिजो भन्दा आज थप बढाएर शो प्रदान गरेका छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई देशको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेसनमा ७० शो बाँडेको छ । क्यूएफएक्सले काठमाडौँ उपत्यकामा ३३ शोज उपलब्ध गराएको छ भने, उपत्यका बाहिर ३७ शो दिएको छ ।

यस्तै, आइएनआइ सिनेमाजले तीन स्टेसनमा १८ शो उपलब्ध गराएको छ । यसैगरी, वान सिनेमाजले दुई स्टेसनमा १३ शो, बिग मुभिजले ९ शो, विएसआर मुभिजले ६, एफक्यूबले १० शोज दिएका छन् ।

यस फिल्मले अन्य हलहरूमा पनि धेरै राम्रो शोहरु पाएको छ । यो फिल्म नेपालका तीन सय स्क्रिनमा रिलिज हुँदै छ । अहिले जुन हिसाबले दर्शकको समर्थन भइरहेको छ, यो भोलिका दिनमा अझ धेरै हुने देखिन्छ ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको यस फिल्मको आजैबाट वर्ड अफ माउथको साथ पाउन सफल भएको छ । फिल्मले देशैभर व्यापारमा गज्जबको उछाल ल्याउन सक्न सहजै अनुमान लगाउन सकिन्छ ।

फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ ।