'छक्का पन्जा ४' र 'झिङ्गेदाउ' भिडियोपसल एपमा
दुई फिल्म 'छक्का पन्जा ४' र 'झिङ्गेदाउ' नेपाली ओटीटी प्लेटफर्म 'भिडियो पसल'मा रिलिज भएका छन् ।
व्यावसायिक रूपमा सफल साथै दर्शकले निकै नै मन पराएका यी दुई फिल्म नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर रिलिज गरिएको हो । उक्त दुई फिल्म अहिलेको लागी नेपाल बाहिर (विदेश)बाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।
दसैँको माहौल साथै विदेशमा रहेका दर्शकहरूबाट 'छक्का पन्जा ४' र 'झिङ्गेदाउ' को माग निकै उच्च आइरहेकाले फिल्म रिलिजलाई लिएर निकै नै उत्साहित रहेको भिडियो पसलका संस्थापक निश्चल पाण्डे बताउँछन् ।
सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखी ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई फोरके (4k) गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे , गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।
यता कलाकार तथा निर्माता समेत रहेका दीपक राज गिरी र दिपाश्री निरौला पनि फिल्म 'छक्का पन्जा ४' हेर्न दर्शक निकै नै आतुर रहेको बताउँछन् । हरेक दिन जसो फिल्मको डिजिटल रिलिजबारे प्रश्न आउने हुँदा अब भने दर्शकले घरमा नै परिवारसँग बसेर फिल्मको मज्जा लिन सक्ने हुँदा खुसी व्यक्त गर्दछन् ।
हेमराज बिसीले निर्देशन गरेको फिल्म 'छक्का पन्जा ४' मा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।
पारिवारिक कथावस्तुमा निर्माण भएको 'झिङ्गेदाउ' मा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ । फिल्मलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।
२०१७ देखी सञ्चालनमा रहेको 'भिडियो पसल'मा यस अघि नै कबड्डी ३, जात्रै जात्रा, प्रसाद, साइँली लगायतका फिल्महरू रिलिज भई सकेका छन् । एपमा फिल्मसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया