३ सय स्क्रिनमा ‘पशुपति प्रसाद २ः भष्मे डन’, बक्स अफिसमा सुनामी ल्याउने आकलन

भोली शनिबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को आक्रामक बुकिङसँगै घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ । 

फिल्मको एडभान्स टिकट बुकिङमा दर्शकको अनपेक्षित आकर्षण देख्न पाइएको छ । फिल्मले एकातिर ब्रान्ड भ्यालु र अर्कोतिर दशैंको एक साताको लामो बिदा भएकाले बक्स अफिसमा सुनामी ल्याउने आकलन गरिएको छ । हरेक हलमा फिल्मको बुकिङ आक्रामक भइरहेको छ । कतिपय हलमा शो  ‘सोल्डआउट’ भएका छन् ।

फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै देशभरका अधिकांश मल्टीप्लेक्सहरुले उच्च शो प्रदान गरेका छन् ।  दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई  देशको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेसनमा ६५ शो बाँडेको छ । क्यूएफएक्सले काठमाडौँ उपत्यकामा ३० शोज उपलब्ध गराएको छ भने, उपत्यका बाहिर ३५ शो दिएको छ ।

यस्तै, आइएनआइ सिनेमाजले तीन स्टेसनमा १५ शो उपलब्ध गराएको छ । यसैगरी, वान सिनेमाजले दुई स्टेसनमा १३ शो, बिग मुभिजले ८ शो,  विएसआर मुभिजले ६, एफक्यूबले ९ शोज दिएका छन् ।

अन्य हलहरूको अनलाइन साइटमा हेर्ने हो भने पनि यस फिल्मले धेरै राम्रो शोहरु पाएको छ । यो फिल्म नेपालका तीन सय स्क्रिनमा रिलिज हुँदै छ । अहिले जुन हिसाबले आक्रामक बुकिङ भइरहेको छ प्रायः हलमा फिल्मको टिकट हाहाकार हुनसक्ने देखिन्छ । 

खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको फिल्मले अझ राम्रो वर्ड अफ माउथको साथ पाए  फिल्मले देशैभर व्यापारमा गज्जबको उछाल ल्याउन सक्न सहजै अनुमान लगाउन सकिन्छ । साथै, दर्शकको उत्साह अझ बढेर गएको खण्डमा बाँकी दिनमा राम्रो व्यापार गर्न सक्ने छ । 

यो फिल्म सात वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको हो । फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ ।