दीपकराजको गुनासो–‘सेन्सर बोर्डमा बस्नेहरु असंवेदनशिल भए, कैंची धेरै चल्यो’

नेपाली फिल्मीकर्मीले चलचित्र सेन्सर बोर्डको विषयमा बारम्बार गुनासो गर्दै आएका छन् । सेन्सर बोर्डले अनावश्यक दुःख दिएको, सेन्सरमा बस्नेहरूले फिल्म नै नबुझी कैंची चलाउने गरेको गुनासो बारम्बार सुनिने गरिन्छ । सोमबार ‘कान्तिपुर सिनेमाज्’ नामक ओटिटी प्लेटफर्म शुभारम्भ कार्यक्रममा पनि यो विषयले स्थान पायो । 

कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार दीपकराज गिरीले सेन्सर बोर्डले फिल्मीकर्मीहरुको सिर्जनामाथि निर्मम तरिकाले कैंची चलाउने गरेको आरोप लगाए । उनले भने–‘सेन्सर भनेको फिल्मीकर्मीलाई मात्र लाग्छ जस्तो लाग्छ । सेन्सरको कैंची असाध्यै कडा भयो । सामाजिक संजालमा कुनै पनि प्रकारको सेन्सर छैन, नेताको बोलीमा कुनै पनि प्रकारको सेन्सर छैन । तर, फिल्मको साना–साना संवादमा पनि कैंची चल्छ ।’

दीपकले सेन्सरको भोगाई संझदै भने–‘मेरो एउटा फिल्ममा प्रहरीलाई ढुंगा हान्नुपर्ने दृश्य थियो । सेन्सर बोर्डमा यो दृश्य काट्न भनियो । फिल्म भनेको नैतिक शिक्षा होइन । फिल्मको सुरुवातमा कुनै पनि पात्रलाई खराब देखाइन्छ । पछि, गएर उ सुध्रिएको पनि हुनसक्छ ।’

दीपकले उदाहरण दिँदै भने–‘फिल्ममा खराब पात्रले धुम्रपान गर्छ । तर, कतिपटक यो कुरा फिल्ममा लेख्नु ? अब बलात्कारको दृश्यमा ‘बलात्कार गर्नु अपराध हो’ लेख्नुपर्यो । दाजुले भाइलाई कुटेको दृश्यमा ‘दाइले भाइलाई कुट्न मिल्दैन’ लेख्नुपर्यो ।’

सेन्सर बोर्डमा बस्ने मानिसहरू निकै असंवेदनशिल भएको उनको आरोप थियो । उनले भने–‘म फिल्म बनाउँदा जहिले पनि यो दृश्य काटिन्छ कि भनेर सशंकित हुने गर्दछु । डराई डराई कसरी सिर्जना गर्न सकिन्छ ?’

दीपकले केही समय अगाडि प्रहरीले प्रहरीको पोसाक प्रयोग गर्दा सम्पूर्ण स्क्रिप्ट वुझाउनुपर्ने नियम ल्याएको विषयमा भने–‘प्रहरी खराब नै हुन सक्दैन भन्ने हुन्छ र ? कि प्रहरीले आफ्नो संगठनमा कोही पनि खराब छैनन् भनेर घोषणा गर्नुपर्यो ।’

दीपकले कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई यो विषयमा गम्भीर भइदिन आग्रह गरे ।