‘परदेशी २’ समिक्षा: सिरिजको दुरुपयोग गरिएको कमजोर फिल्म


फिल्म निर्माण भएको ३ वर्षसम्म निर्देशक नारायण रायमाझी र निर्माता राजेश वंशलले ‘परदेशी २’लाई हलमा ल्याउन निकै नै सकस भोगे । बारम्बार फिल्मको प्रदर्शन मिति तय गर्दै पछि हटेका उनीहरू अन्ततः असोजको २६ गतेबाट दर्शकमाझ आफ्नो सृजना लिएर आएका छन् । ७ वर्ष अगाडि निर्माण भएको फिल्म ‘परदेशी’को नाम सापटी लिएर त्यसको पछाडि २ राख्दै यो फिल्म तयार पारिएको छ ।

पहिलो सिरिजमा खाडी मुलुकमा गएका मजदुरहरूको पीडा बोलेका रायमाझीले यस पटक अमेरिका गएको एक धनी बाउको छोराको कथा भन्न खोजेका छन् ।

कथासार

पोखरामा रहेका एक परिवार । सबिन बास्तोला र रमा थपलियाका छोरा प्रकाश सपुत अमेरिका जान चाहन्छन् । उनको अमेरिका जाने सोचाइमा बाबुको आपत्ति खासै रहँदैन, आमाको माया मिसिन्छ । तर, पनि अमेरिका जाने उनको सोचलाई कसैले पनि रोक्न सक्दैनन् । काठमाडौँ आएर अमेरिकन दूतावासमा अन्तरवार्ता दिन्छन्, सहजै भिजा लाग्छ ।

प्रेमिका(केकी अधिकारी), बाबु र आमालाई छाडेर अमेरिका पुगेका सपुतको जिन्दगीमा आउने एउटा ठुलो भवितव्य, वर्षा सिवाकोटीको प्रवेशपछि सपुतको जिन्दगीमा आउने ठुलो परिवर्तनकै कथामा यो फिल्म तयार भएको छ । समग्रमा यो फिल्मले नेपालदेखि अमेरिकासम्म यात्रा गरेको एक युवा र उसको भोगेको र देखेको जिन्दगीको कथालाई नै आफ्नो मुलसार बनाएको छ । फिल्मको कथामा परदेशिएको छोरा र नेपालमा तड्पिएकी आमाको भावनासँग निर्देशक खेल्न खोजेको देखिन्छ ।

सबल पक्ष

फिल्मले नेपाली लोकसंगीतलाई बलियो रूपमा प्रस्तुत गरेको छ । फिल्ममा हिजोआज मौलिक नेपाली लोकसंगीत हराउँदै गएको अवस्थामा नारायण रायमाझीले यो शैलीलाई भने बचाइरहेका छन् । फिल्मले परदेश गएका युवाहरूलाई एक पटक सोच्न बाध्य बनाउँछ । विदेश पुगेपनि आफ्नो परिवार र देशलाई बिर्सन हुँदैन भन्ने सन्देश फिल्मले दिन खोजेको छ । छोटोमै भएपनि वीर गोर्खालीहरूको वीरताको कथालाई फिल्मले प्रस्तुत गरेको छ । मित्रताको कथालाई पनि फिल्मले बलियो रूपमा प्रस्तुत गरेको छ, जुन यसको सबल पक्ष हो । दुःख होस् या सुखमा साथी नै चाहिन्छ भन्ने कथा फिल्ममा देखाउन खोजिएको छ । सन्तान विश्वको जुनसुकै सम्पन्न देशमा गएपनि बाबु आमाका लागि उसको अभाव सधैँ नै परिरहन्छ भन्ने कथासार फिल्मले देखाउन खोजेको छ, जुन यसको सबल पक्ष हो ।

कमजोरी

यो फिल्म भित्र कमजोरीको थुप्रै पाटो छन् । निर्देशक रायमाझीले ३ वर्ष लगाएर बनाएको यो फिल्म प्राविधिक रूपमा त ध्वस्त नै छ । आजको प्राविधिक दुनियाँसँग यसका मेकर खेल्न नसकेको प्रष्टै हुन्छ । अमेरिका भन्दै क्रोमा गरिएका दृश्यहरू देखाउँदा नेपाली फिल्मको मेकिङ कति कमजोर हुने रहेछ भन्ने खराब सन्देश फिल्मबाट गएको छ । फिल्ममा कलाकार लिप्सिङ ध्वस्त छ । सुटिङ गर्दा एउटा संवाद र पछि डबिङ गर्दा अर्को संवाद प्रयोग गर्दा कलाकारको अभिनयको हाउभाउ र संवादको तालमेल नै देखिँदैन । यो समस्या अझ बढी प्रकाश सपुतको संवादमा देखिएको छ ।

फिल्मको मुख्य पात्र प्रकाश सपुतलाई अमेरिका किन जानु पर्यो भन्ने भाष्य नै यो फिल्मले स्थापित गर्न सकेको छैन । किनकि, जसरी उ नेपालमा विन्दास तरिकाले बाँचिरहेको छ, अमेरिका पुगेर पनि उसको जीवनशैली उस्तै देखिन्छ । फिल्म भित्र यति धेरै गीतहरू समावेश गरिएको छ कि, यो फिल्म नभएर कुनै गीति नाटक जस्तो लाग्छ ।

फिल्मको सबै कुराहरू संवादले नै भन्नुपर्छ भन्ने शैली अब पुरानो भैसकेको छ । अब, दृश्य र कलाकारको अभिनयबाटै यी कुराहरू सहजै भन्न सकिन्छ । तर, ९० को दशकमा बन्ने फिल्म जस्तै निर्देशक रायमाझीले सबै कुराहरू संवादबाट भन्न खोज्दा, दर्शकलाई दिक्क लाग्छ । दृश्यहरू यति लामा र पट्यारलाग्दा छन् कि, एउटा दृश्यबाट अर्को दृश्यमा जानै निर्देशकले समय लगाएका छन् ।

निर्देशकले फिल्म बनाउँदा २ वटा कुरा सोचेको देखिन्छ । एउटा, जसरी हुन्छ दर्शकलाई रुवाउनुपर्छ, अर्को जबरजस्ती भएपनि देशको माया देखाउनुपर्छ । यी दुई कुरालाई नै दिमागमा राखेर निर्देशक हिँड्दा फिल्म भित्र दर्शक रुवाउनकै लागि जबरजस्ती दृश्यहरू तयार पारिएका छन् ।

फिल्मको क्लाइमेक्समा आमा बिरामी हुँदा विदेशबाट छोरा नेपाल आउनै पर्छ भन्ने दृश्य स्थापित गर्नका लागि निर्देशकले जबरजस्ती दृश्यहरू तयार पारेका छन् । एक सम्पन्न परिवारकी आमा अस्पतालको बेडमा लडिरहँदा उनका उपचारका लागि निर्देशकले कुनै बल नै गरेका छैनन् । उनलाई कुन रोग लागेको हो, अन्य सुविधा सम्पन्न अस्पतालमा लैजान किन नहुने हो भन्ने विषयको कारण खुलेको छैन । जसलेगर्दा, जसरी हुन्छ आमाको वियोगमा छोरा तड्पिएको देखाउनु नै निर्देशकको ध्येय देखिन्छ ।

‘परदेशी २’ कमजोरी नै कमजोरीले भरिएको फिल्म हो । जसले, दर्शकलाई कहीँ कतै रुवाउन त सफल होला, तर यसले एउटा बलियो फिल्मको उदाहरण पस्कन भने सक्दैन ।

फिल्ममा प्रशान्त तामाङ र दिलीप रायमाझी जस्ता कलाकारलाई सही तरिकाले प्रयोग गरिएको छैन । दिलीपलाई त यति कमजोर भूमिका दिइएको छ कि, एउटा बलियो अभिनय गर्ने कलाकारमाथि निर्देशकले अन्याय नै गरेका छन् । प्रशान्त तामाङलाई गोर्खालीको संवाद बोल्न लगाएर निर्देशकले सस्तो ताली मात्र खोजेको देखिन्छ । उनलाई पनि सही तरिकाले फिल्ममा प्रयोग गर्न सकिएको छैन । भारतबाट रेलमा नेपाल फर्किँदै गर्दा प्रशान्तलाई गोर्खालीको परिचय दिनका लागि जबरजस्ती दृश्य थोपरिएको छ । जहाँ, लुटेराहरूले लुटेपछि मात्र एक्सन गर्नका लागि पर्खिरहेका प्रशान्तको अभिनय र दृश्य बनावटी लाग्छ ।

कलाकारको काम

फिल्मको मुख्य पात्रको रूपमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, निर शाह, रमा थपलिया, सबिन बाँस्तोला, देवेन्द्र बब्लु लगायतका कलाकारको अभिनय छ ।

लोक गायन र अभिनयमा जमिरहेका प्रकाश सपुतको यो डेब्यू फिल्म हो । पोखराको सम्पन्न परिवारको छोराको भूमिका उनी जस्तो देखिएका छन्, अमेरिका पुगेपछि भने उनको अभिनयमा कुनै परिवर्तन आएको छैन । प्रकाश सपुतको रुवाइले दर्शकको मन छुँदैन । उनी यसमा फितलो देखिएका छन् । संवादको डेलिभरीमा विविधता छैन ।

केकी अधिकारी फिल्ममा सामान्य छिन् । उनको अभिनय बुलन्द छैन । जस्तो, उनले अन्य फिल्ममा अभिनय गर्दै आएकी छिन्, यसमा पनि उनी त्यस्तै देखिएकी छिन् । वर्षा सिवाकोटीको भूमिका महत्त्वपूर्ण छ । एउटा गीतमा उनी जमेकी छिन् । तर, उनमा अमेरिकामा बस्ने युवतिको भाव कहीँ कतै पनि देखिँदैन ।

मुख्य कलाकारमा नै निर्देशक चिप्लिएका छन् । निर शाह, रमा थपलिया, सविन बाँस्तोला लगायतका कलाकारले आफ्नो भूमिकालाई राम्रोसँग निर्वाह गरेका छन् ।

समग्रमा

समग्रमा ‘परदेशी २’ एउटा औसत फिल्म हो । ‘गोर्खापल्ट र परदेशी’मा बुलन्द कथा भनेका नारायण रायमाझी यस पटक भने धेरै ठाउँमा चिप्लिएका छन् । राजेश बंशल जस्ता निर्माताले दर्शकलाई जस्तो फिल्म बनाएर देखाइदिँदा पनि हुन्छ भनेर लगानीमा कन्जुस्याइँ गरेका छन् । ३ वर्ष लगाएर बनाइएको फिल्मको कमजोरी के छ भनेर हेर्ने थुप्रै समय हुँदा पनि मेकरमा हिट फिल्मको सिरिज हो, यत्तिकै चलिहाल्छ नि भन्ने हेपाहा प्रवृत्ति हाबी भएको देखिन्छ । ‘परदेशी २’ले नेपाली फिल्मको मेकिङ र गुणस्तरमा कुनै पनि योगदान गर्दैन ।