‘राजेश दाईका फ्यान नीच हुन सक्दैनन्’
लकडाउनको समयमा निर्देशक दीपा श्री निरौलाले नायक राजेश हमालको विषयमा बोलेको एउटा लाइनले उनलाई आज पनि पिरोलिरहेको छ । ‘राजेश हमाल पनि महानायक हो र’ भन्ने वाक्य दीपाको मुखबाट निस्कियो र टेलिभिजनमा प्रशारण भयो । लकडाउनको समयमा दीपालाई यही कुराले यति धेरै पिरल्यो कि, उनी डिप्रेशनमा नै पुगिन् ।
फिल्म ‘डाँडाको वर पिपल’ रिलिजको समयमा निर्देशक शोभित बस्नेतले नायक भुवन केसीलाई ‘महानायक’ भने । उनले, राजेश हमालको आलोचना गरे । यसले, उनलाई मात्र होइन उनका छोरा सलोन बस्नेतलाई पनि पिरल्यो । फिल्मको रिलिजको दिनसम्म पनि यही कुराले नछाडेपछि शोभितले हमालको तस्विर राखेर प्रेस मिट नै आयोजना गर्नुपरेको थियो । फिल्मले बक्स अफिसमा पानी पनि भन्न पाएन ।
अहिले, नायिका उषा रजकलाई पनि नायक राजेश हमालको विषयमा बोलेको यस्तै वाक्यले पिरोलिरहेको छ । उनले, ‘राजेश हमालको अभिनय औसत रहेको, राजेश हमाल ओभरेटेड एक्टर रहेको’ भन्दै अभिव्यक्ति दिइन् । यो अभिव्यक्तिपछि उनले तथानाम गाली खाइरहेकी छिन् ।
राजेश हमालको विषयमा जसले नकारात्मक कुरा गर्छु, उसका लागि त्यो जीवनभरकै सजाय हुने देखिएको छ । नेपाली फिल्म क्षेत्रमा राजेश हमाललाई ‘बौद्धिक नायक’को रुपमा चिनिन्छ । तर, उनका फ्यानहरुले गर्ने गाली गलौजमा कही कतै पनि बौद्धिकता झल्किएको देखिँदैन । यो विषयमा राजेश हमालले पनि आजसम्म मुखै खोलेर केही बोलेका छैनन् ।
उसो त, राजेश हमालको बारेमा बजारमा हुने गरेका टिप्पणीले मिडिया र फ्यानहरुमाझ जति चर्चा पाउँछ, यो कुरामा हमाल भने खासै जानकार हुँदैनन् । र, आफ्ना बारेमा आउने विभिन्न खालका तर्कमा उनी प्रतिक्रिया दिइहाल्दैनन् । तर, उनका फ्यानले दिने प्रतिक्रियाले भने सामाजिक सञ्जाललाई नै तरंगित बनाइरहेको हुन्छ ।
सुन्न र पढ्नै नसकिने गाली सामाजिक संजालमा आएपछि उषाले लेखेकी छिन्–‘राजेश दाइका फ्यानहरु यती नीच हुनै सक्दैनन् ।’ उनले आफू निकै बलियो भएको बताउँदै यस्तै खालका प्रतिक्रिया सामाजिक संजालमा आउँदा नेपालीमा आत्महत्याको दर पनि बढिरहेको उल्लेख गरेकी छिन् ।
उनले लेखेकी छिन्–‘आज एकलाई मायाको नजरले हेरिदेऊ, रिस नै उठे पनि । भोलि तिम्रो घरमा, तिम्रै दाजुभाइ बहिनीलाई त्यही लच्छिन लाग्नेछ ।’
हिजो दीपाश्री, आज उषा रजक । राजेश हमालको समर्थनमा देखिएका फ्यानहरु बाट सुन्न र पढ्नै नसकिने शब्दबाट प्रताडित छन् । राजेश हमालको अभिनय, उनको नृत्य वा उनका फिल्ममा खोट नै लगाउन नपाइने भन्ने कही पनि छैन होला । तर, राजेश हमालका फ्यानहरु भने उनलाई यसरी पुजिरहेका छन् कि, उनीमाथि एक शब्द पनि नकारात्मक रुपमा बोल्ने मानिस सबै भन्दा ठूलो शत्रु हो ।
राजेश हमालको बारेमा नकारात्मक कुरा सुन्नै नसक्ने फ्यानहरुले आफूले भने अरूलाई कस्तो भाषा प्रयोग गरिरहेको छु भनेर सोच्न पर्छ या पर्दैन ? राजेश हमाल त एक बौद्धिक नायक हुन् । उनका धेरै फ्यानको उनको फिल्मसँगै बौद्धिकताका कारण पनि जोडिएका छन् । तर, उनका फ्यानले अरूलाई दिने प्रतिक्रिया ? के सही छ त ? सोच्नु पर्ने बेला आएको छ ।
प्रतिक्रिया