‘पशुपति प्रसाद’लाई यूनिभर्सको रुपमा अगाडि बढाउने तयारी

७ बर्ष अगाडि रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’मा नायक खगेन्द्र लामिछाने हाबी थिए । यो फिल्ममा खल पात्रको रुपमा विपिन कार्की अर्थात् ‘भष्मे डन’ देखिएका थिए । तर, फिल्मको सिक्वेल ‘पशुपति प्रसाद २ः भष्मे डन’मा नायक विपिन कार्कीलाई केन्द्रमा राखिएको छ ।

यसपटक ‘भष्मे डन’ अर्थात् विपिन नायकको रुपमा देखिँदा निर्माणपक्षले खल पात्रको रुपमा सौगात मल्लको प्रवेश गराएको छ । 

यसरी हेर्दा, नयाँ नयाँ पात्रलाई जोड्दै यसको निर्माणपक्षले फिल्मको सिक्वेल बनाउने तयारी गरेको बुझ्न सकिन्छ । यस विषयमा फिल्मका निर्माता तथा लेखक खगेन्द्र लामिछाने भन्छन्–‘सिक्वेल बनाउँदा केही शृङ्खलापछि त्यसको अस्तित्व सकिन्छ । दर्शकलाई पनि दिक्क लाग्न थाल्छ । यसैले, अब हामी फिल्मलाई यूनिभर्सको रुपमा विकास गर्न चाहन्छौं । जसरी हलिउडमा यूनिभर्सको रुपमा कथा विकास गर्दा दर्शकलाई पनि मन परिरहेको छ नी । हामी पनि यसरी नै अगाडि बढाउने सोचमा छौँ । नयाँ नयाँ पात्रलाई थप्दै जाँदा दर्शकलाई पनि रमाइलो लाग्छ ।’

खगेन्द्रले यसलाई ‘पशुपति प्रसाद ३’ घोषणाको रुपमा नबुझ्न आग्रह गरे । तर, उनले तेस्रो सिक्वेलमा सौगात मल्ल हाबी हुने तर्फ भने संकेत गरेका छन् । 
फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ कार्तिकको ४ गतेबाट रिलिज हुँदैछ ।

फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बनियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा बिष्फोटक व्यापार गर्ने संभावना छ ।