दशैंमा ‘बाबरी’: गतबर्ष हलमा, यो बर्ष युट्युबमा

गतबर्षको दशैँमा हलमा रिलिज भएर औसत व्यापार गरेको फिल्म ‘बाबरी’ यो बर्षको दशैँमा भने युट्युबमा रिलिज गरिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्मले गतबर्षको व्यापारमा करिब १ करोड नजिकको ग्रस कलेक्शन गरेको थियो ।

धिरज मगर, अदिति वुढाथोकी, धिरज नाडकर लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई समीक्षक र दर्शकले मिश्रित प्रतिक्रिया दिएका थिए । 

तर, केन्द्र मोशन पिक्चर्सको च्यानलबाट सार्वजनिक भएको फिल्मलाई दर्शकले युट्युबमा भने राम्रो प्रतिक्रिया दिएका छन् । सार्वजनिक भएको १७ घण्टामा २ लाख भन्दा बढी पटक हेरिएको यो फिल्ममा गणेश वुढाथोकी र पुष्पालता बुढाथोकीको लगानी छ । 

फिल्मको गीत संगीतले भने निकै चर्चा पाएको थियो । फिल्मको शीर्ष गीत अहिले पनि सुपरहिट छ । 

यो फिल्मको सिक्वेल बनाउने चर्चा पनि चलेको थियो । तर, वुझिएअनुसार यसको निर्माणपक्ष अब नयाँ कथा र नयाँ नाममा फिल्म बनाउने तयारीमा जुटेको छ । ‘बाबरी’मा काम गरेपछि धिरजको २ वटा नयाँ फिल्म रिलिज भइसकेको छ भने अदितिले कुनै पनि फिल्म साइन गरेकी छैनन् ।