आक्रामक रुपमा सोल्ड हुँदै ‘पशुपति प्रसाद २’को टिकट

कार्तिकको ४ गते अर्थात फूलपातिबाट रिलिजमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिकट आक्रामक रुपमा सोल्ड भैरहेको छ ।

फिल्म रिलिज हुन ६ दिन मात्र बाँकी रहेको अवस्थामा दर्शकको माग समेत फिल्मलाई लिएर उच्च रहेको प्रदर्शकहरुले बताएका छन् । 

फिल्म रिलिजको १२ दिन अगाडि नै काठमाडौंको चाबहिलमा रहेको एफक्यूब हलले टिकट विक्री सुरु गरेको थियो । एफक्यूबमा टिकट विक्री आक्रामक देखिएको छ । 

यस्तै, बनेपाको शुभकामना हलमा बिहान साढे ८ बजेको शो सोल्ड आउट भइसकेको छ । अन्य हलमा पनि अब बुकिङ खुल्ने वितरक करण क्रेजीले जानकारी दिएका छन् । 

उनले भने–‘फिल्मप्रति दर्शकको यो उत्साह आफैमा निकै सुखद कुरा हो । देशभरका हलमा दर्शकले फोन गर्दै बुकिङ खुलाउन माग गरेको खबर आएको छ । दर्शकहरु समुह–समुह बनाएर फिल्मको टिकट खरिद गर्न हल पुगेका छन् ।’

निर्देशक दीपेन्द्र के खनालले पनि फिल्मप्रति दर्शकको चासो उच्च रहेको बताए । उनले भने–‘प्रदर्शकहरुले हामीलाई फोन गरेर दर्शकको दबाब धान्नै गाह्रो भैरहेको बताउनुभएको छ । केही हलमा टिकट सोल्ड आउट भैरहेका छन् ।’

बक्स अफिसमा यो फिल्मले बम्पर ओपनिङ गर्ने संकेत देखिएको छ । हिट फिल्मको सिक्वेल भएका कारण पनि फिल्मप्रति दर्शकको चासो उच्च देखिएको हो । 

खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।