डेब्यू फिल्ममा प्रकाश सपुतको काम कस्तो छ ?

गायकबाट नायक बनेका प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ आजबाट देशभरका हलमा रिलिज भएको छ । अमेरिका पुगेको छोरा र उसको यादमा नै शिथिल बनेकी आमाको कथामा यो फिल्मको कथा बुनिएको छ ।

नारायण रायमाझीले फिल्ममा आफ्नो शैली छाडेका छैनन् । प्राविधिक रुपमा फिल्म कमजोर  छ तर कथावस्तुले भने दर्शकलाई बाध्न सक्छ । 

यो फिल्म गायक सपुतको डेब्यू फिल्म हो । आज बिहान आइएनआई सिनेमाज्, नयाँ बाँनेश्वरमा फिल्म हेर्न पुगेका अधिकांश फिल्मीकर्मीले सपुतले राम्रो काम गरेको प्रतिक्रिया दिए । 

यो फिल्ममा नायिका केकी अधिकारी जमेकी छिन् । एक प्रेमिका र डाक्टरको भूमिकामा केकी बलियो देखिएकी छिन् । आफ्नो अभिनयले सधै नै दर्शकको मन जित्दै आएकी केकीले ‘परदेशी २’बाट पनि दर्शकको मन जित्न सक्छिन् । 

प्रकाश सपुत फिल्ममा औषत देखिएका छन् । फिल्म भित्र उनी नै हाबी छन् । तर, प्रकाशको अभिनयलाई बलियो भन्न सकिदैन । डेब्यू फिल्ममा उनले आफूलाई नायकको रुपमा भन्दा एउटा कलाकारको रुपमा चिनाउन खोजेका छन् । भिडियोको निर्देशनमा नयाँ नयाँ क्रियशन गर्न माहिर मानिने सपुतले अभिनयमा अझै मिहिनेत गर्नुपर्ने देखिन्छ । 

फिल्म भित्र उनी आधुनिक यूवाको भूमिकामा छन् । जो आफ्नो गाउँदेखि अमेरिका पुग्दासम्म पनि उस्तै टिपटप देखिन्छ । प्रकाश यसमा ठिकठाक देखिन्छन् । बरु, फिल्ममा कही कतै देखिने देबेन्द्र बब्लु भने दर्शकको दिमागमा बस्छन् । 

फिल्म ‘परदेशी २’लाई नारायण रायमाझीले परदेशीहरुको पीडाको कथामा बुनेका छन् । जसले दर्शकको मन छुन सक्छ । फिल्म हेरेर निस्किएपछि परदेशमा गएका यूवा हुन् या जान तयार भएका यूवा नै किन नहुन्, उनीहरुलाई फिल्मले एकपटक सोच्न भने वाध्य बनाउँछ ।