वर्षाको ४ घन्टाः चितवनमा ‘पपुलर नायिका’, काठमाडौंमा निर्णायक’


नायिका वर्षा राउतका लागि आज बिहिबार भ्याई नभ्याई नै भयो । नायिका राउत बिहान ११ बजे चितवन उडेकी थिइन् । चितवनमा आज आयोजना भएको ‘लक्की फिल्म अवार्ड’मा सहभागी हुन उनी चितवन पुगेकी थिइन् । यो अवार्डमा वर्षालाई ‘पपुलर नायिका’ घोषित गरियो । गतबर्ष वर्षाका ‘के घर के डेरा र लाखे’ रिलिज भएका थिए । वर्षालाई फिल्मको व्यापार, चर्चा आदिका कारण ‘पपुलर नायिका’को अवार्ड दिइएको थियो । 

वर्षाले आफूले पाएका सबै अवार्ड पाउँदा खुशी भएको तर्क गरिन् । उनले, अवार्डले कलाकारलाई काममा प्रोत्साहन गर्ने पनि बताइन् । उनले भनिन्–‘म त्यस्तो धनी पनि छैन कि, अवार्ड नै किन्न परोस् । मैले आजसम्म अवार्ड किन्न परेको छैन । कतिपयले अवार्ड पाउँदै हुनुहुन्छ भनेर बोलाउने गरेका छन् । कतिपय अवार्डमा आफूले पाउँदैछु भनेर मनमनै थाहा हुने गरेको छ ।’

अवार्ड समारोहमा करिब डेढ घन्टा बिताएर वर्षा फेरि काठमाडौं नै फर्किन् । काठमाडौंमा उनी निर्णायक रहेको ‘डान्स योद्धा’ नामक रियालिटी शोको घोषणा कार्यक्रम थियो । वर्षा लगभग कार्यक्रम सकिएपछि आइपुगेकी थिइन् । यो शोको निर्णायक हुन पाउँदा खुशी लागेको बताउँदै वर्षाले आफ्नो नृत्यकलाको बिषयमा मिडियासँग कुराकानी पनि गरिन् । वर्षाले आफूले सन् २०१२ मा साल्सा डान्स सिकेको बताइन् । 

यो बर्ष वर्षा अभिनित फिल्म ‘ऐँचो पैँचो’ रिलिज भएको थियो । यो फिल्मबाट वर्षाको अभिनयको चर्चा भएको थियो । वर्षा अब चाडै नै छायांकन हुन लागेको फिल्म ‘महाजात्रा’को छायांकनमा जोडिदैछिन् ।