यी कारणले चल्न सक्छ ‘परदेशी २’
भोलि शुक्रबारदेखि देशभरका हलमा ‘परदेशी २’ रिलिज हुँदैछ । नारायण रायमाझीको निर्देशनमा बनेको यो फिल्म ‘परदेशी’को सिरिज हो ।
राजेश वंशल निर्मित यो फिल्मको नाम नै यसको लागि मुख्य फाइदा हो । किनकी, हिट सिरिजको सिक्वेल वा सिरिज बनेको खण्डमा नामलाई ब्रान्डिङ गर्न निर्माताले धेरै दुःख गर्नु पर्दैन ।
यो फिल्मले वैदेशिक रोजगारीमा गएका विद्यार्थीहरूको कथा भन्छ । नेपालमा अधिकांश परिवारका कोही न कोही एक सदस्य वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । यसैले, यो कथाले ती सबै दर्शकलाई छुने देखिन्छ ।
निर्देशक रायमाझीले समाजको कथा टिपेर दर्शक माझ पस्कने ल्याकत राख्छन् । जसका कारण, उनको नामले पनि फिल्मको व्यापारिक सफलतामा सहयोग गर्न सक्छ ।
फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतका कलाकार छन् । यी कलाकारका आ–आफ्नै फ्यान भएका कारण पनि फिल्मलाई फाइदा हुने देखिन्छ ।
यो फिल्मले दशैँमा घर आउने नपाएको एक छोरा र उसलाई पर्खिरहेकी आमाको कथा भन्छ । दशैँको छेकोमा रिलिज हुन लागेकाले पनि यो कथा नेपाली दर्शकका लागि अझै प्रिय बन्न सक्छ ।
फिल्मलाई ओपनिङ सुखद गर्ने अवसर पनि छ । शनिबार र आइतबारको सार्वजनिक बिदा, यसपछि सुरु हुने दशैँको माहोल आदि कारणले गर्दा पनि फिल्मलाई फाइदा हुनसक्छ । दोस्रो सातामा दशैँको लामो बिदा हुने भएकाले पनि फिल्मले त्यसको फाइदा लिन सक्छ ।
प्रतिक्रिया