हल्ला विनै हलमा ‘कौसीद’
भोलि शुक्रबारबाट फिल्म ‘परदेशी २’ सँगै अर्को फिल्म ‘कौसीद’ पनि रिलिज हुँदैछ । शोज बाँडा फाँडको आँकडा हेर्दा ‘कौसीद’ले निकै कम शोज पाउँदा ‘परदेशी २’को शोजलाई सुखद नै मान्न सकिन्छ ।
भोलिबाट रिलिज हुने भए पनि फिल्म ‘कौसीद’को चर्चा नै छैन भन्दा फरक पर्दैन । अर्थात्, हल्लाबिना नै यो फिल्ममा हलमा पुगेको छ । फिल्ममा ऋचा शर्मा, भोला राज सापकोटा जस्ता नाम चलेका कलाकार छन् । तर, निर्माणपक्षले फिल्मको विषयमा दर्शकलाई जानकारी गराउन समेत आवश्यक नठानेको देखिन्छ ।
देशकै सबै भन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो फिल्मलाई काठमाडौं उपत्यकामा ९ शो दिएको छ भने उपत्यका बाहिर ५ शो उपलब्ध गराएको छ । यस्तै, बीग मुभिज र वान सिनेमाज्ले फिल्मलाई न्यून शो दिएका छन् ।
यसरी विना प्रचार हलमा फिल्म लगाउँदा दर्शकले फिल्म चलेको थाहा नपाउने स्थिति हुन्छ । यस कुरामा निर्माताले ध्यान दिएका छैनन् । यसरी प्रचार विनै हलमा फिल्म लगाएर निर्माताले फाइदा लिनसक्ने अवस्था देखिँदैन ।
फिल्म नचलेर पोस्टरको पैसा पनि नउठाउन सक्ने स्थिति बन्छ । तर वितरकको भरमा यो फिल्मले हलमा केही शोज पाएको छ ।
यस विषयमा फिल्मका वितरक रोहित कट्टेलसँग मेरो फिल्मले प्रश्न गर्दा उनले फिल्मले पाएको शोजलाई नराम्रो भन्न नमिल्ने बताए ।
उनले भने–‘फिल्मको प्रचार प्रसार खासै छैन, त्यही पनि शोहरु राम्रै पाएको छ । प्रचार प्रसार किन गरिएन भन्ने कुरा मेरो भन्दा पनि निर्माताको हो ।
प्रमोसन नहुँदा व्यवसायीक रुपमा असर त परि नै हाल्छ । सोचे अनुरूप फिल्मले आम्दानी पनि नगर्ला । तर, मैले मेरो कर्तव्य भने निर्वाह गरेको छु । वितरकले फिल्मको जिम्मा लिएपछि उचित शोज मिलाउन सक्नुपर्छ । यो कुरामा भने म चुकेको छैन भन्ने लाग्छ ।’
रोहितले फिल्मको सुरुवातदेखि नै वितरकले पैसा लगानी गर्ने भएको बताउँदै विविध कारणले आफूहरूको रकम जोखिममा पर्ने गरेको गुनासो गरे । उनले भने–‘फिल्मको प्रमोसन राम्रो नहुँदा हलमा दर्शक कम आउँछन् । जसले, वितरककै लगानी उठाउन धौ धौ पर्छ । अर्कातिर, प्रदर्शकले पनि सही समयमा पैसा दिदैनन्, जसले गर्दा लामो समयसम्म हाम्रो रकम फ्रिज हुने अवस्था आएको छ ।’
प्रतिक्रिया