सुदर्शन विरुद्ध पक्राउ पुर्जी जारी भएपछि निर्देशक समाजको आपत्ती
फिल्म निर्देशक सुदर्शन थापा विरुद्ध पक्राउ पुर्जी जारी भएपछि चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । समाजका अध्यक्ष जनकदिप पराजुलीले जारी गरेको विज्ञप्तिमा एउटा निर्देशकले पारिश्रमिक लिएर काम गर्ने भन्दै यसमा निर्देशकको अरू भूमिका केही पनि नहुने उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘निर्देशकले फिल्म पूर्ण रुपमा बनाई निर्माताको आदेश बमोजिम प्रदर्शनका लागि सहयोग मात्र गर्ने हो । तसर्थ उहाँलाई चलचित्र विक्री वितरण गर्ने कुनै पनि अधिकारी हुँदैन । अतः यस्तो अवस्थामा प्रहरीले विना कारण, विना प्रमाण, एकतर्फी रुपमा फिल्म विक्री वितरणको आरोप लगाउँदै परेको उजुरीको भरमा पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक छ ।’
समाजले यस्तो विवादस्पद बिषयहरुलाई समन्वय गरि समाधान गर्ने कोशिश गर्ने समेत बताएको छ । फिल्म क्षेत्रमा परेको समस्याको समाधान गर्न फिल्मकर्मीका संस्थाहरू आफैंमा सक्षम रहेको पनि समाजका अध्यक्षले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै, समाजले फिल्म विवादको सहजीकरणमा कानुनलाई सहयोग गर्न निर्देशक थापासँग पनि अनुरोध गरेको छ ।
फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले आफ्नो अनुमति विना नै देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर आफूलाई क्षति पुर्याएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । बस्नेतको उजुरीको आधारमा प्रहरीले निर्देशक थापा, सम्पादक मिलन श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
प्रतिक्रिया