माघ २६ मा ‘हात्तीछाप’सँगै ‘उपहार’ रिलिज हुँदा बेनिशालाई तनाव
फागुण २५ मा नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहने दुई फिल्म एकैसाथ रिलिज हुने कुरा त हामीले उल्लेख गरिसकेका छौं । अब, माघको २६ गते पनि यस्तै एउटा भिडन्त हुँदैछ । जसले, नायिका बेनिशा हमाललाई समस्यामा पारिदिएको छ ।
बेनिशा अभिनीत फिल्म ‘हात्तीछाप’ले पहिले नै माघ २६ को मिति तय गरिसकेको हो । किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको फिल्मको फस्टलुक समेत रिलिज भइसकेको छ ।
अब, यही मितिमा फिल्म ‘उपहार’ पनि आउने भएको छ । फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमालको मुख्य भूमिका छ । फिल्मको टिमले चाडै नै गीत सार्वजनिक गर्ने तयारी गरेको छ ।
एउटै मितिमा आफू अभिनीत २ फिल्म रिलिज हुने भएपछि बेनिशालाई पनि तनाव भएको छ । किनकी, एउटै मितिमा २ फिल्म रिलिज हुँदा कलाकारलाई प्रमोशनको समस्या हुँदै आएको छ ।
बेनिशा पनि एकैसाथ २ फिल्म एउटै मितिमा आउँदा आफूलाई दोहोरो प्रमोशनमा दौडनुपर्ने भएकाले केही गाह्रो हुने तर्क गर्छिन् । अब, बेनिशाले कुन फिल्मलाई बढी समय दिन्छिन् त्यो प्रमोशन सुरु भएपछि नै थाहा हुनेछ ।
कहिले लामो समय फिल्म नै नआउने त कहिले एकैसाथ फिल्म जुध्ने समस्याले कलाकारलाई हैरान भने बनाउँदै आएको छ ।
प्रतिक्रिया