‘परदेशी २’को ओपनिङ कस्तो होला ?


भदौको २९ गते २ वटा फिल्म रिलिज भएपछि नेपाली फिल्म बजार फेरि सुनसान छ । गत साता फिल्म ‘वानर सेना’ रिलिज भए पनि यो फिल्म हलमा आएको र गएको दर्शकले नै थाहा पाएनन् । यसैले, शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘परदेशी २’माथि धेरैको आशा जोडिएको छ । 

फिल्मको प्रचारमा यसको टिमले कुनै कसर बाँकी राखेको छैन । देश दौडाहा, कलेजदेखि महायज्ञसम्म प्रमोसन, मिडियामा प्रमोसनमा कलाकार व्यस्त छन् । तर, यसले के फिल्मलाई फाइदा होला त ?

यो सफल फिल्म ‘परदेशी’को सिक्वेल हो । नामको फाइदा फिल्मले लिन सक्छ । फिल्मको प्रमोसनमा निर्माण पक्षले कुनै कसर नराखेका कारण  पनि यसले ओपनिङ राम्रो गर्ने अपेक्षा गर्न सकिन्छ ।

नयाँ नेपाली फिल्म रिलिज नहुनु, बलिउड फिल्मले पनि दर्शक तान्न नसक्नु आदि कारणले गर्दा यो फिल्मले दर्शकको साथ पाउन सक्छ । तर, फिल्मको वर्ड अफ माउथ भने बलियो हुनु आवश्यक छ । यसपटक, फिल्मको गीतसंगीत र ट्रेलरले पहिलो सिरिजको जस्तो चर्चा पाएको छैन । यो चुनौती भने फिल्मको टिमसँग छ । 

प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी फिल्मको मुख्य भूमिकामा छन् । भिडियोमा रुचाइएका सपुतलाई फिल्मी पर्दामा दर्शकले टिकट काटेर हेर्छन् या हेर्दैनन् भन्ने चुनौती पनि देखिन्छ ।

फिल्मले क्यूएफएक्समा पाएको शोजलाई हेर्ने हो भने त्यो औसत हो । यसैले, फिल्मको ओपनिङ बिष्फोटक नहुन सक्छ । तर, सुखद ओपनिङ भने फिल्मले गर्न आवश्यक छ । नारायण रायमाझी निर्देशित फिल्मलाई राजेश बंशलले  निर्माण गरेका हुन् ।