दीपेन्द्रको यात्रामा कस्तो रहला भष्मे डनको साथ ?

निर्देशक दीपेन्द्र के खनालले सबैभन्दा बढी तारिफ पाएको फिल्म ‘पशुपति प्रसाद’ हो । ‘पशुपति प्रसाद’लाई दर्शकहरुले निक्कै रुचाए । बक्स अफिसमा सुखद कमाइ गरेको यो फिल्मले दर्शक र समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पायो । नेपाली फिल्म नै नहेर्ने दर्शकले पनि यो फिल्म हेरेर प्रशंसा गरेका थिए ।

मानवीय अनुभुतिको लिपि विश्वव्यापी हुन्छ, सबैलाई बुझ्न सजिलो । मान्छेको सुख, दुःख रोदन हाँसोमा गहिराइ धेरै थोरै हुन सक्ला तर अन्तर्य समान हुन्छ । सबैले बुझ्छन् । पछिल्लो समय निर्देशक दीपेन्द्र के खनालले यिनै कुराहरूलाई समातेर आफ्नो फिल्मी यात्रामा दौडाइ रहेका छन् ।

दीपेन्द्र के खनालको निर्देशनमा बनेको ‘पशुपति प्रसाद’मा खगेन्द्र लामिछाने, विपिन कार्की र वर्षा सिवाकोटीको मुख्य भूमिकामा रहेका थिए । अब ‘पशुपति प्रसाद’को सिक्वेल ‘पशुपति प्रसाद २ः भष्मे डन’ दशैंको अवसर पारेर फूलपातीदेखि प्रदर्शनमा आउँदैछ ।

हालको अवस्था हेर्ने हो भने यो फिल्म प्रति सबै जना एकदमै एक्साइटेड रहेको सामाजिक सञ्जाल नियाल्दा देख्न सकिन्छ । त्यही सेरोफेरोलाई बुझ्दा ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने प्रक्षेपण गरिएको छ । चार गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले नयाँ रेकर्ड बनाएको खण्डमा बक्स अफिसमा रिलिज हुन लागेका आगामी फिल्महरुलाई फेरि नयाँ चुनौती खडा हुनेछ ।

अघिल्लो भाग पशुपति प्रसादलाई मनले हेर्ने बनाएका निर्देशक दीपेन्द्र के खनालले सोमबार सार्वजनिक ट्रेलर सार्वजनिक कार्यक्रममा दोस्रो भाग पशुपति प्रसाद भष्मे डन माथी छेड खानी गरेर नबिगारेको  बताएका छन् ।

निर्देशक खनालले भने, ‘पशुपति प्रसादको एउटा आफनै दृश्य भाषामा छ त्यसलाई हामीले बिगार्नु हुँदैन भन्ने छ र हामी आफै पनि त्यसमा धेरै सचेत छौं । बजार मात्रै हेरेर कर्मशलाइज गर्ने तर्फ लागि परेका छैनौं । हामीले पुनः पशुपति प्रसादको लेगेसी धान्ने फिल्म बनाएको छौं । पशुपति प्रसाद भन्ने बित्तिकै दर्शकले त्यसमा कथा र इमोशन खोज्छन् ।’ त्यहि हिसाबले ट्रेलरमा गीत समावेश नगरेको उनले तर्क गरेका छन् । 

यस्तै भष्मे डनलाई सुधारेको हो भन्ने प्रश्नमा खनाल भन्छन्, ‘हरेक मान्छेको दुईटा पाटो हुन्छ । मेरो पनि दुइवटा पाटो छन् कसैले देख्छन् कसैले देख्दैनन् । भष्मे डनको पनि दुईटा पाटो रहेको छ । भष्मे डन भन्ने बितिकै खुङंकार डन त्यो खुँडा लिएर हिँडने डन पनि हैन पहिलाको भागमा पनि ऊ सानो सानो कुराहरुमा रमाएर स–सानो कुरामा जिस्कीएर हिँडने डन हो । ‘पशुपति प्रसाद’को अन्त्यमा उसको हृदय कस्तो छ भन्ने देखाएका थियौं । यसैले मान्छे जस्तो पनि हुनसक्छ । एउटा पाटो एकछिन देखिँदैमा ऊ त्यही हो भनेर मुल्यांकन गर्नु हुन्न ।’

खनाल अघि थप्छन् - ‘फिल्मको कथा भष्मे डनमै केन्द्रित रहेकाले उसको जीवनसँग जोडिएका धेरै कुरा आउने खनालले प्रष्ट पारे । कथा नै भष्मे डनको हो । त्यसले गर्दा उनको जीवनसँग जोडिएका धेरै कुरा आइहाल्छ । हरेक मान्छेमा ‘इमोसन’ हुन्छ । किनभने मान्छे जति डरलाग्दो हुन्छ, त्योभन्दा धेरै उसको ‘इमोसन’ हुन्छ । कथा भष्मे डनकै वरिपरि घुमेकाले उसको ‘इमोसन’को पाटो आइहाल्छ।’