सुटिङ रिपोर्टः ‘चित्रा’को सुटिङमा जे देखियो...
फिल्म ‘चित्रा’को यतिबेला पोखराका विभिन्न स्थानहरूमा छायांकन भइरहेको छ । निर्देशक घनश्याम लामिछानेको निर्देशन रहेको यो फिल्मले बाबु छोरीको कथालाई प्रस्तुत गर्छ ।
पोखरामा हालै भएको खराब मौसमका बाबजुद निर्देशक लामिछानेले फिल्मलाई सहज ढंगले छायांकन गराइरहेका छन् । मेरोफिल्म टिम छायांकन हुँदै गर्दा त्यस क्षेत्रमा पुगेको थियो । फिल्मको १७ औं दिनसम्मको सुटिङ चलिरहेको थियो र लगभग ७० प्रतिशत भन्दा बढीको काम सकिएको निर्माणपक्षले जानकारी दियो ।
हामी छायांकन भइरहेको र उक्त क्षेत्रमा पुग्दा र अवलोकन गर्दा पामे जाने बाटोको फेवातालसिर क्षेत्रमा सुटिङ भइरहेको थियो । सुटिङ अवलोकनका क्रममा निर्देशक लामिछानेले त्यस दिन कलाकारद्वय प्रमोद अग्रहरी र कुमार गुरुङको टेक लिइरहेका थिए । एकातिर मौसम खराबको स्थिती त छँदै थियो तर निर्देशक लामिछानेले सुटिङमा कुनै तनाव लिएका थिएनन् ।
पोखराको मौसमको भर हुँदैन भनिन्छ । यसैले, पनि निर्माण पक्षलाई मौसमले सताइरहेको त थियो तर निर्देशकको कमाण्डले काम निरन्तर जारी थियो ।
निर्देशक घनश्याम लामिछानेले दृश्यको छायांकन सकेर एक्सनको तयारी गरिरहेका थिए । पोखराको प्रर्दशनी हलमा सुटिङ स्थल बनाइएको भव्य सेट निर्माण भइरहेको थियो । यो सेट निर्माण गर्न टिमलाई करिब १० घण्टा लागेको जानकारी निर्माणपक्षले बताएको छ । एक्सन सिन गर्ने दिन कलाकार सन्तोष अधिकारी, प्रमोद अग्रहरी, सिम्रन खड्का, कुमार गुरुङ र फाइटरहरुको टेक राखिएको थियो । एक्सन निर्देशकको रुपमा सम्राट बस्नेत तयार थिए ।
एक्सन दृश्य गर्न सहज छैन । नेपालमा सुटिङ स्टुडियो नहुँदाको पीडा यसको निर्माणपक्षले भोगिरहेको थियो । तर, पनि भव्य सेट निर्माण गरेर फिल्मको छायांकन भैरहेको थियो ।
निर्देशक सम्राट बस्नेतले चारै तीरबाट पुराना कार, बस, साइकल, जेसीभी, धानको भुस र गाडीका टायर मगाएर छायांकन सुरु गरे ।
यस्तै, केही दिन अघि एक्सन दृश्यको तयारीका लागि सेट बनाइरहँदा हार्नेसबाट झरेर प्राविधिक घाइते समेत भएका थिए । उनलाई निर्माण युनिटले अस्पताल पु¥याएको निर्देशक लामिछाने हामीलाई जनकारी गराए।
सन्तोष अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ ।
फिल्मको निर्माण टिमले पोखरामा मिहिनेतका साथ काम गरिरहेको छ । निर्माता तथा कलाकार सन्तोष अधिकारी आफूहरूले गरेको मिहिनेत पर्दामा देखिनेमा विश्वस्त छन् ।
प्रतिक्रिया