सम्पादक मिलन श्रेष्ठले न्याय नपाए काम ठप्प पार्ने प्राविधिक संघको चेतावनी


नेपाल चलचित्र प्राविधिक संघले सम्पादक मिलन श्रेष्ठले न्याय नपाएको खण्डमा आफूहरुले कुनै पनि फिल्मको छायांकन नगर्ने चेतावनी दिएको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले मेरो फिल्मसँग कुरा गर्दैै भने–‘विनाकारण हाम्रो प्राविधिक मुद्दामा फसेका छन् । यसैले, हामी आज र भोली हेर्छौ । यदि २ दिनमा पनि मिलनले न्याय पाएनन् भने हामी सम्पूर्ण छायांकन रोक्छौं ।’

उनले, आगामी दिनमा प्राविधिकको रकम चुक्ता नगर्ने निर्माता, निर्देशक, कलाकारका फिल्ममा पनि काम नगर्ने चेतावनी दिएका छन् । उनले भने–‘अहिलेसम्म धेरै प्राविधिकले रकम नपाएको भन्ने गुनासो छ । जुन, निर्माता, निर्देशक र कलाकारको फिल्मबाट प्राविधिकहरुले रकम पाएका छैनन्, ती कुनै  पनि टिमसँग हाम्रा प्राविधिकहरुले अब काम गर्दैनन् ।’

पुष्करले प्रश्न गर्दै भने–‘यहाँ न्याय पाउनका  लागि सबै क्षेत्रका मानिसहरु सडकमा आएका छन् । के अब हामी पनि सडकमा आउनुपर्ने हो र ?’

फिल्म ‘प्रसाद २’का सम्पादक मिलन श्रेष्ठमाथि यसका निर्माता सुदर्शन बस्नेतले ‘अपराधिक विश्वासघात’को उजुरी दिएका कारण प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सम्पादक श्रेष्ठलाई विनाकारण आरोप लगाइएको भन्दै प्राविधिक संघले चाडै न्याय नपाएको खण्डमा केही दिनमै अप्रिय निर्णय लिन वाध्य हुने चेतावनी दिएको हो ।