‘मुम्बई फिल्म फेस्टिभलमा’ ‘द रेड सुटकेस र गुराँस’
भेनिसमा वल्र्ड प्रिमियर भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ मुम्बई फिल्म फेस्टिभलमा साउथ एसिया कम्पिटिसनमा परेको छ । यस्तै, महोत्सव आयोजकले सोमबार सार्वजनिक गरेको सूचीमा नेपाल–भारतको सहकार्यमा तयार भएको ‘गुराँस’ पनि प्रतिस्पर्धामा परेको छ । आइसफल प्रडक्सनले श्रीलंकाको फिल्म काउन्सिल प्रडक्सनसँग मिलेर निर्माण गरेको ‘द रेड सुटकेस’ यसअघि जुरिक फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो ।
‘द रेड सुटकेस’बाहेक सौरभ राई निर्देशित ‘गुराँस’ पनि यही विधामा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । यो फिल्मलाई पनि आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । लो आइक्यू प्रडक्सन, क्राउलिङ एन्जल फिल्मस्, निओनेट अडियो एलएलपी समेतको निर्माण रहेको ‘गुराँस’ भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको फिल्म हो । ‘गुराँस’को दुई दिनअघि मात्र दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा साउस एसियन प्रिमियर सम्पन्न भएको थियो ।
आफूले निर्माण गरेका दुवै फिल्म फेस्टिभलमा छनौट भएकोमा निर्माता पोखरेलले खुशी व्यक्त गरेका छन् । ‘यो प्रतिस्पर्धा भन्दा पनि प्रतिनिधित्वको कुरा हो । यसलाई मैले राम्रा फिल्ममार्फत् नेपालको प्रतिनिधित्व भएको अर्थमा बुझेको छु,’ उनले भने ।
यही अक्टुबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने महोत्सवमा २५० फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ । महोत्सवमा ४० वटा वल्र्ड प्रिमियर, ४५ वटा एसिया प्रिमियर, ७० वटा साउथ एसिया प्रिमियर हुनेछन् ।
प्रतिक्रिया