विपिन कार्की भन्छन् – मेरो धेरै तारिफ गर्दा मान्छेहरु ‘नापो’ भन्छन् होला !
नायक विपिन कार्कीलाई लोकप्रिय बनाउने श्रेय सन् २०१६ मा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’लाई जान्छ । सात वर्षअघि रिलिज भएको ‘पशुपति प्रसाद’मा दुब्लो पातलो शरीर । खौरिएको तालुमा कालो चश्मा । दिनभर पशुपति आर्यघाटमा क्यान्डिक्रस खेल्न व्यस्त, स्वर बसेको ‘भष्मे डन’लाई याद नराख्ने को होला ?
त्यसो त विपिन हरेक फिल्ममा फरक–फरक भूमिकामा अभिनय गर्न सक्ने कलाकारको रुपमा चिनिन्छन् । विपिन अभिनयमा विविधता अपनाउन माहिर छन् त्यसैले फिल्मीकर्मीको रोजाइका कलाकारमा परिरहेका हुन्छन् ।
उनलाई भन्ने गरिन्छ अनेकमा विपिन छैनन् । तर, विपिनमा अनेक छन् । यी अनेक रूपभित्र एउटा सग्लो रूप छ, विपिन कार्कीको । विपिनको यही शैलीले जोकोहीलाई उनीप्रति चासो बढाइरहन्छ, मनमा कौतुहलता उत्तिकै उब्जादिन्छ ।
विपिन यस्ता अभिनेता हुन्, जसले कुनै पनि चरित्रलाई फितलो बनाएनन् । यसो भनौं, उनले जे–जति चरित्र निर्माण र निर्वाह गरे सम्झनलायक रहे । आफूलाई लुकाएर विपिनले यस्ता चरित्र निर्माण गरेका छन्, जसले उनलाई हरेक समय दर्शकको दिमागमा घुमाइरहन्छ ।
विपिन ‘रियल’मा जे देखिन्छन् । ‘रिल’मा त्यो देखिँदैनन् । अर्थात् ‘रियल’मा ‘एक विपिन’ देखिन्छन् । तर ‘रिल’मा ‘विविध विपिन’ छन् । यस हिसाबले नेपाली फिल्मकै उनी ‘वान पिस’ अभिनेता हुन् भन्न सकिन्छ ।
यस्तैमा उनी दर्शकमाझ आगामी कार्तिक ४ गतेबाट रिलिज हुने फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा सात वर्षपछि पुन ‘भष्मे डन’ चरित्रमा देखिँदैछन् । सात वर्षअघि रिलिज भएको ‘पशुपति प्रसाद’को दोस्रो श्रृंखलाको रुपमा बनेको यो फिल्मले ‘भष्मे डन’ पात्रकै कथा पेश गर्छ ।
‘पशुपति प्रसाद’का मुख्य पात्र पशुपति प्रसाद हुन्, जसलाई खगेन्द्र लामिछानेले निर्वाह गरेका छन् । कथालाई उनैले डोहो¥याएका छन् । कथामा द्वन्द्व पैदा गर्ने एउटा सहायक तत्वको रूपमा मात्र ‘भष्मे डन’को चरित्र निर्माण गरिएको हो । तर, त्यही चरित्रको बलमा विपिन यति माथि उठे कि, उनीमाथि सिंगो फिल्म बोक्नसक्ने सामथ्र्य देखियो ।
उनको यही भष्मे डनको चरित्रले फिल्मकर्मी, दर्शक या मिडियामाझ कहिले पनि नविर्सने छाप छोडेको छ ।
उसो त विपिन आफ्नो बढाईचढाई गरेर गरिने प्रशंसा नै नहोस् भन्ने चाहन्छन् । फिल्म ‘पशुपति प्रसाद’को दोस्रो श्रृंखला ‘भष्मे डन’को ट्रेलर सार्वजनिक कार्यक्रममा यस्तै अभिव्यक्ती व्यक्त गरेका छन् ।
रंग पत्रकार तथा कार्यक्रम सञ्चालक नरेश भट्टराईले आफूलाई गरेको तारिफ पछि विपिनले भने–‘नरेश दाईले अब मेरो यति धेरै तारिफ गरेर भने जस्तो हुन्छ । जहाँ पनि यति धेरै त नभनीदिए पनि हुन्थ्यो, यो त अति भयो जस्तो हुन्छ । उहाँले यति धेरै तारिफ गरिदिनु हुन्छ कि मान्छेहरूले पनि मन मनमा ‘नापो’ भन्छन् होला जस्तो लाग्छ ।
प्रतिक्रिया