‘अपराधिक विश्वासघात’ले गिँजोलिएको फिल्म क्षेत्र


नायक अनमोल केसीलाई फिल्म ‘रावायण’की निर्मात्री सुप्रिया कटुवालले ‘अपराधिक विश्वासघात’को मुद्दा हालिन् । प्रहरीले पनि उनलाई यही मुद्दामा पक्राउ गर्यो । अनमोल केसी पक्राउ पर्नु अगाडि आम मानिसहरुलाई ‘अपराधिक विश्वासघात’को बिषयमा खासै जानकारी थिएन । तर, अनमोल केसी पक्राउ परेपछि भने यो मुद्दा निकै चर्चामा छ । 

अनमोल केसीलाई सुदर्शन र सुप्रियाले १० लाख रुपैयाँ लिएर अन्तिम समयमा फिल्ममा काम नगरेको भन्दै मुद्दा दायर गरेका थिए । २ दिन प्रहरीको नियन्त्रणमा रहेर अनमोल छुटिसकेका छन् । 

फिल्म क्षेत्रमा यसपछि ‘अपराधिक विश्वासघात’ भन्ने शब्द निकै चर्चामा छ । फिल्म ‘प्रसाद २’का निर्माता  सुदर्शन बस्नेतले यसका निर्देशक सुदर्शन थापा, सम्पादक मिलन श्रेष्ठ र ओएसआर डीजिटलका संचालक ओम अग्रवाल विरुद्ध पनि ‘अपराधिक विश्वासघात’को मुद्दा दायर गरेका थिए ।

उनले, आफूलाई नसोधी विश्वभर फिल्म रिलिज गरेर डेढ करोड रुपैयाँको क्षती पुर्याएको भन्दै तिन जना विरुद्ध प्रहरीमा उजुरी दिएका थिए । अग्रवाललाई प्रहरीले पक्राउ गरेर परिवारको जमानीमा रिहा गरिसकेको छ भने सुदर्शन र मिलन फरार छन् । 

विशेषगरि, नेपाली फिल्म क्षेत्रमा आर्थिक लेनदेन निकै नै चर्चामा रहन्छ । निर्माताले वितरकको पैसा नदिएको, वितरकले निर्माताको पैसा नदिएको, कलाकारले निर्माताको पैसा फिर्ता नगरेको, प्रदर्शकले वितरकको पैसा नदिएको जस्तो घटना फिल्म क्षेत्रमा दैनिक जसो सुनिने गरेका छन् ।

तर, यी बिषयहरु प्रहरी समक्ष निकै कम पुग्ने गरेका थिए । तर, माथि उल्लेखित २ घटनाले भने फिल्म क्षेत्रमा अब ‘अपराधिक विश्वासघात’को मुद्दा निकै पर्ने देखिएको छ । यसले, फिल्म क्षेत्रको बाताबरण कही न कही विथोलेको छ । भोलीका दिनमा फिल्ममा काम गर्न र गराउन नै फिल्मीकर्मीहरुबिच अविश्वास पैदा हुने खतरा समेत बढेको छ ।