विश्वसनियता गुमाइरहेको विकास बोर्ड र असक्षम नेतृत्व
फिल्म सम्बन्धी संघसंस्थासँग सल्लाहा नै नगरि चलचित्र विकास बोर्डले चलचित्र विधेयक अगाडि बढाएपछि यतिबेला विकास बोर्ड र फिल्मी क्षेत्रको दुरी बढेको छ ।
उसो त, चलचित्र विकास बोर्डमा सक्षम नेतृत्व भन्दा कार्यकता नै बढी भर्ती हुने भएकाले यसप्रति फिल्मीकर्मीको विश्वास बलियो छैन । झन्, चलचित्र विकास बोर्डको नेतृत्वमा नायक भुवन केसी नियुक्त भएपछि त यसको विश्वसनियतामाथि झनै प्रश्न उठ्न थालेको छ ।
फिल्म सम्बन्धी संघसंस्थाहरुले विकास बोर्डका सबै कार्यक्रम बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । आफूहरुसँग सल्लाहा नै नगरि विकास बोर्डले विधेयक अगाडि बढाएको भन्दै उनीहरुले सम्पूर्ण बोर्डका कार्यक्रम बहिष्कारको घोषणा गरे । यसले, चलचित्र विकास बोर्ड झनै अप्ठ्यारोमा परेको छ ।
उसो त, विकास बोर्ड कमजोर बनेको पहिलो पटक होइन । विकास बोर्डले सही समयमा सही निर्णय गर्न नसक्दा बारम्बार यसको औचित्यमाथि पनि प्रश्न उठ्ने गरेको छ ।
अर्कोतिर, विकास बोर्डले गर्ने हरेक किसिमका कामहरुमाथि नै प्रश्न उठिरहेको छ । यस्तो अवस्थामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र उनको टिम गम्भिर नबन्ने हो भने, विकास बोर्डको विश्वसनियता झनै गुम्ने खतरा देखिएको छ ।
‘प्रेमगीत ३’ विवाद, दुबइमा आयोजना गरिएको फिल्म महोत्सव, ‘एक भगवत् र एक गीता’ विवादमा विकास बोर्डको कमजोर निर्णय आदि कारणले विकास बोर्डमाथि प्रश्न उठिरहेको थियो । हाल, चलचित्र विधेयकका बिषयमा सिंगो फिल्म क्षेत्र एकातिर र चलचित्र विकास बोर्ड एकातिर भएको अवस्था छ ।
हुनत, विकास बोर्ड अध्यक्ष भुवन केसी बोर्डमा गएपछि फाइलमा साइन गर्नु बाहेक अरु काम गर्न नसकेको आरोप पनि लाग्दै आएको छ । कतिपयले विकास बोर्ड अध्यक्ष केसीलाई ‘नाम मात्रको अध्यक्ष’ समेत भन्ने गरेका छन् । बोर्डका गतिविधि र कमजोर निर्णय हेर्दा पनि यस्तै देखिएको छ । यसैले, विकास बोर्डले विश्वसनियता गुमाइरहेको अवस्थामा नेतृत्व गम्भिर बन्न आवश्यक देखिएको छ ।
प्रतिक्रिया