शान्ती सुरक्षा माग्दै प्रहरीकोमा पुग्दा पक्राउ परेका थिए ओम अग्रवाल


फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले दिएको उजुरीको आधारमा पक्राउ परेका ओएसआर डीजिटलका प्रमुख ओम अग्रवाल रिहा भएका छन् । बौद्ध प्रहरीले उनलाई आज जमानीमा रिहा गरेको हो । 

वुझिएअनुसार, अग्रवाललाई प्रहरीले उनकै अफिसमा आएर पक्राउ गरेको थिएन । विगत ४–५ दिनदेखि अग्रवाललाई खोज्दै ओएसआरको अफिसमा केही केटाहरु पुग्ने गरेका थिए । निरन्तर केही यूवाहरु पुगेपछि अग्रवालले असुरक्षा महशुश गरेका थिए । यसपछि, उनी शान्ती सुरक्षाको माग गर्दै जिल्ला अदालत पुगे ।

जिल्ला अदालतले उनलाई टेकु प्रहरीमा जान आग्रह गरे । यसपछि, टेकु प्रहरीकोमा पुगेका अग्रवाललाई फेरि सिंहदरबार वृत्तमा जान प्रहरीले आग्रह गरे । सिंहदरबार प्रहरी बृत्तमा पुगेपछि मात्र अग्रवाललाई आफू विरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा भयो । 

बौद्ध प्रहरीमा पक्राउ पुर्जी जारी भएको एक महिना भैसकेको थियो । यसपछि, प्रहरीकै निगरानीमा ओम अग्रवाल बौद्ध प्रहरी पुगेका थिए । 

बौद्ध प्रहरीमा पुगेपछि अग्रवालको स्वास्थ्य अवस्था केही कमजोर बनेको थियो । यसपछि, प्रहरीले उनलाई जोरपाटीको एक अस्पतालमा भर्ना गरेको थियो । उनी, शुक्रबार र शनिबार नै अस्पतालमा बसेका थिए । आइतबार प्रहरीले उनलाई जिल्ला अदालतमा म्याद थपका लागि लगेको थियो । अदालतले उनलाई ४ दिनको म्याद थपको अनुमति दियो । तर, आज बेलुकी उनलाई जमानीमा रिहा गरिएको हो । 

आज भन्दा ४ बर्ष अगाडि नै सुभाष थापा प्रोडक्शनबाट बन्न लागेको फिल्म ‘प्रसाद २’का लागि ओम अग्रवाल र निर्माता सुभाष थापाविच डिजिटल अधिकारको बिषयमा संझौता भएको थियो । तर, पछि विवाद भएपछि सुभाषले सुलभ थापा प्रोडक्शनबाट फिल्म बनाएका थिए । सुभाषले यो बर्षको सुरुवातमा सुदर्शन बस्नेतलाई फिल्मको सम्पूर्ण अधिकार तिम्रो भयो भन्दै अधिकार दिएर आफू भने अष्ट्रेलिया उडेका थिए । 

उनै, सुदर्शनले ओम अग्रवाललाई ‘अपराधिक विश्वासघात’को उजुरी दिएका थिए । ओम अग्रवालले सुभाष थापासँग संझौता गरेका थिए । उक्त समयमा फिल्मको निर्माताको रुपमा सुदर्शन बस्नेतको प्रवेश नै भएको थिएन ।