‘प्रसाद २’ विवादमा पक्राउ परेका ओम अग्रवाल रिहा


फिल्म ‘प्रसाद २’को आर्थिक विवादमा पक्राउ परेका ओएसआर डीजिटलका प्रमुख ओम अग्रवाल रिहा भएका छन् । उनलाई बौद्ध प्रहरीले आज रिहा गरेको विशेष श्रोतले मेरो फिल्मलाई जानकारी दिएको छ । 

अग्रवाललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको थियो । फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले दिएको उजुरीको आधारमा अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो । 

व्यवसायी अग्रवाल पक्राउ परेपछि फिल्मीकर्मीहरुले चर्को विरोध गरेका थिए । उनले, ओम अग्रवाल जस्तो व्यक्तिलाई विनाकारण फसाउन नहुने भन्दै सामाजिक संजालमार्फत स्टाटस लेखिरहेका छन् । 

फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले आफूलाई कुनै जानकारी नै नदिई देश तथा विदेशमा फिल्म रिलिज गरि डेढ करोड क्षती पुर्याएको भन्दै फिल्मका निर्देशक सुदर्शन थापा, सम्पादक मिलन श्रेष्ठ र ओम अग्रवाल विरुद्ध उजुरी दिएका थिए । यसपछि, प्रहरीले यी तिनै जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

अदालतले आज अग्रवाललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर, अग्रवाललाई प्रहरीले आज धरौटीमा रिहा गरेको छ ।